काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङक्स इंग्लिस प्रिमियर लिग (ईपीएल) २०२६–२७ को टाइटल स्पोन्सर बनेको छ। नयाँ सिजनका ईपीएल खेलहरू कान्तिपुर म्याक्सबाट लगातार दोस्रो वर्ष प्रत्यक्ष प्रसारण हुँदैछन्।
शुक्रबार आयोजित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिजनेस हेड सोनिया रानाले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। कार्यक्रममा रानाले खेलकुदका महत्वपूर्ण गतिविधि प्रत्यक्ष प्रसारणमा कान्तिपुर म्याक्सले पुर्याउँदै आएको योगदान तथा ईपीएलको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर साझेदारी गरिएको बताइन्। ईपीएल विश्वकै चर्चित फुटबल लिगमध्ये एक हो। यसको खेल हेर्न प्रत्येक खेलमा औसत ४० हजारभन्दा बढी दर्शक रंगशालामा पुग्ने गर्छन् भने विश्वभर यसको औसत दर्शक संख्या ४.७ बिलियन रहेको बताइन्छ। नेपालमा पनि ईपीएल विशेषगरी युवामाझ निकै लोकप्रिय छ। यहाँ विभिन्न प्रिमियर लिग क्लबका आधिकारिक फ्यान क्लबहरू समेत सक्रिय छन्।
गत सिजन आर्सनलले ईपीएलको उपाधि जितेको थियो। २०२६–२७ सिजन शुक्रबार रातिबाट सुरु हुँदैछ। पहिलो खेलमा साविक विजेता आर्सनलले यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको कोभेन्ट्री सिटीसँग प्रतिस्पर्धा गर्नेछ। नयाँ सिजन सुरु भएसँगै नेपालमा ईपीएल हेर्ने फुटबलप्रेमीको उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ।