वीरगञ्ज । राउन्ड टेबल नेपालको २६औँ राष्ट्रिय वार्षिक साधारणसभा वीरगञ्जमा सम्पन्न भएको छ। साधारणसभाले साकेत मुरारकालाई संस्थाको नयाँ राष्ट्रिय अध्यक्षमा चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष मुरारकाले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासका क्षेत्रमा गर्दै आएको कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साधारणसभाबाट उपाध्यक्षमा रोहित अग्रवाल, सचिवमा भास्कर सोनी, कोषाध्यक्षमा धीरज अग्रवाल, सम्पादकमा राहुल अग्रवाल तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारीमा कृष्ण अटल चयन भएका छन्। निवर्तमान अध्यक्ष सुमित मित्तल तत्कालीन अध्यक्षका रूपमा रहनेछन्। नयाँ कार्यकालमा विद्यालयको स्तरोन्नति गर्दै ‘राउन्ड टेबल नेपाल मोडल स्कुल’ स्थापना गर्ने तथा विपन्न बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने योजना अघि सारिएको छ। त्यस्तै, ‘SWAP’ परियोजनामार्फत पुनःप्रयोग तथा पुनर्चक्रण गर्न मिल्ने सामग्री संकलन गरी त्यसबाट प्राप्त रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गर्ने लक्ष्य संस्थाले लिएको छ।
संस्थाले सदस्यहरूको सीप तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। राउन्ड टेबल नेपालले आगामी कार्यकालमा शिक्षा र सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आफ्नो अभियानलाई थप विस्तार गर्ने जनाएको छ।