विराटनगर। युवा उद्यमशीलता, सीमापार व्यापार तथा लगानी सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यले भारतको सिलिगुडीमा आयोजित दुई दिने ‘यंग अन्टरप्रेनर्स समिट २०२६’ सम्पन्न भएको छ।
यौङ इन्डियन्स सिलिगुडी र नेपाली युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा सिलिगुडीस्थित कोर्टयार्ड बाइ म्यारियट होटलमा सम्पन्न सम्मेलनमा नेपाल र भारतका उद्योगी, लगानीकर्ता तथा युवा उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सम्मेलनले दुई देशका युवा व्यवसायीबीच व्यावसायिक नेटवर्क विस्तार, नयाँ सम्भावनाको खोजी तथा सहकार्यका अवसर पहिचान गर्न महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, ‘प्रोफिट्स फर्स्ट’का संस्थापक तथा सीएफए सञ्जय कथूरिया र भारतीय गैर–आख्यान लेखक तथा उद्यमी रश्मी बन्सललगायत वक्ताले उद्यमशीलता, नेतृत्व, वित्तीय व्यवस्थापन तथा व्यवसाय विस्तारका विषयमा आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए। सम्मेलनमा नेपालबाट करिब ४० जना युवा उद्यमी सहभागी भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रोमन कट्टेलले जानकारी दिए।


दुई देशका युवा उद्यमीलाई एउटै मञ्चमा ल्याएर व्यवसाय, लगानी तथा व्यापारिक सहकार्यका सम्भावना खोज्ने प्रयासले आगामी दिनमा नेपाल–भारत आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने आयोजकको विश्वास छ।