रसुवा । रसुवाबाट आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै धादिङ प्रशासनले नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।धादिङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा त्रिशूली नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएकाले नदीको बहाव बढ्न सक्ने र विपद्को जोखिम हुन सक्ने जनाइएको छ ।
नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्ति तथा मजदुरलाई नदीमा नजान र गइसकेको भए तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । साथै, आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र नदीको तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारी एवं सावधानी अपनाउन भनिएको छ ।
प्रशासनले कुनै विपद्जन्य घटना भए जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा इकाइलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ ।सूचनामा नेपाल प्रहरी हटलाइन १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको नम्बरसमेत उपलब्ध गराइएको छ ।