काठमाडौं । रसुवाको भोटेकोशी नदीमा फेरि बाढी आउन सक्ने जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिनियाँ अधिकारीहरूले नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी दिएका छन्। बुधबार दिउँसो १ः३५ बजे प्राप्त सूचनामा ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायमै रहेको जनाइएको हो।
चीनबाट प्राप्त सूचनालाई उद्धृत गर्दै प्राधिकरणले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। यसअघि बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत प्रभाव पार्ने देखिएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा रहेका सर्वसाधारणलाई जोखिमलाई ध्यानमा राख्दै सुरक्षित र अग्लो स्थानमा रहन तथा सरकारी निकायबाट जारी हुने सूचनालाई पालना गर्न अनुरोध गरेको छ।