भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं : सांसद दुलाल

<span class='c1'>भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत</span> <span class='c2'>प्रयोग गरौं : सांसद दुलाल</span>

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले रसुवा हुँदै बगेको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढीबाट ठूलो जनधनको क्षति भएको र धेरै नागरिक सम्पर्कविहीन रहेको भन्दै तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिनुपर्ने बताए । उनले उद्धारको पर्खाइमा रहेका नागरिकलाई राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रका हेलिकप्टर सरकारले नियन्त्रणमा लिएको र निजी क्षेत्रले उद्धारका लागि परिचालन गर्न नपाएको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै उनले उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गर्न सक्ने वातावरण बनाउन आग्रह गरे । ‘सरकारले कि सबै निजी हेलिकप्टरलाई उद्धारमा प्रयोग गरोस् कि उद्धारकै लागि निजी क्षेत्रले हेलिकप्टर प्रयोग गर्न सक्ने वातावरण सिर्जना गरोस्,’ उनले भने । दुलालले सरकारबाट रसुवा, नुवाकोट र धादिङलाई संकटग्रस्त जिल्ला घोषणा गरिएको जानकारी प्राप्त भएको भन्दै त्यसका लागि सरकारलाई धन्यवाद दिए । विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षको विभाजन नरहेको उल्लेख गर्दै उनले आफ्नो दल सरकारको साथमा रहेको बताए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्तालाई घटनास्थलमा परिचालन गरी उद्धार, राहत र पुनस्र्थापनामा सहयोग गर्न आह्वान गरिसकेका छन् ।

सांसद दुलालले उद्धार गरिएका तथा घाइते नागरिकको उपचार र आवश्यक सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । बाढीका कारण राष्ट्रिय राजमार्गमा यातायात अवरुद्ध हुनुका साथै विद्युत् प्रसारण र सञ्चार सेवासमेत प्रभावित हुनसक्ने भन्दै प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर राख्न तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए । रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत सञ्चार सेवा सञ्चालनमा सहयोग पुर्याउनुपर्ने उनको सुझाव छ । दुलालले उद्धार र राहतपछि पुनस्र्थापनाको कामलाई पनि युद्धस्तरमा अघि बढाउनुपर्ने बताए । नेपाल सरकार, बागमती प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्दै राजनीतिक दल, संघसंस्था र आम नागरिकलाई समेत पुनस्र्थापनाको अभियानमा सहभागी गराउनुपर्ने उनको भनाइ छ । उनले भविष्यमा यस्ता विपद् दोहोरिन नदिन उत्तरी छिमेकी मुलुकसँग सीमापार सूचना आदानप्रदान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सिन्धुपाल्चोकको मेलम्चीलगायतका क्षेत्रमा विगतमा पनि अकल्पनीय बाढी आएको स्मरण गर्दै उनले उत्तरी छिमेकबाट नेपालतर्फ बग्ने नदीहरूमा प्रभावकारी ‘अर्ली वार्निङ सिस्टम’ स्थापना गर्न सरकारलाई आग्रह गरे । ‘भोलि अरू ठाउँमा पनि यस्तै विपद् आउन सक्छ,’ उनले भने, ‘त्यसकारण उत्तर–दक्षिण बग्ने नदीहरूमा पूर्वसूचना प्रणाली राख्न र सीमापार सूचना प्रवाह प्रभावकारी बनाउन सरकारले आवश्यक पहल गर्नुपर्छ ।’ दुलालले अहिलेको प्राथमिकता उद्धार, राहत र मानवीय सेवा भएकाले सबै पक्ष एकजुट भएर विपद्को सामना गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्