काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएको थियो। उहाँले बाढी प्रभावित बस्तीहरूको भौतिक अवस्था तथा बाढीबाट पुगेको क्षतिको स्थलगत अवलोकन गर्नुभएको हो।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रिय रहनुभएको थियो। बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएका प्रधानमन्त्री शाहले नुवाकोट पुगेर प्रभावित क्षेत्रको प्रत्यक्ष अवस्थाबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा प्रधानमन्त्री शाह नेतृत्वको टोलीले बाढीबाट क्षतिग्रस्त भौतिक संरचना, सडक तथा अन्य पूर्वाधारको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गरेको थियो। सो क्रममा प्रधानमन्त्री शाहले बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य अत्यावश्यक पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाका कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । स्थलगत निरीक्षण तथा आवश्यक निर्देशन दिएपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको छ।