हेटौँडा। रसुवा बाढीपीडितका लागि भन्दै व्यक्तिगत क्यूआर कोड सामाजिक सञ्जालमा सार्वजनिक गरी सहयोग रकम सङ्कलन गर्न खोज्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार सामाजिक सञ्जालमार्फत एक जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको हो ।
प्रहरीका अनुसार व्यक्तिगत तलब खाताको क्यूआर कोड प्रयोग गरी राहत तथा सहयोग रकम सङ्कलन गर्न खोजेको भन्ने उजुरी प्राप्त भएपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले राहत तथा सहयोग रकम सङ्कलन गर्दा सम्बन्धित सरकारी निकाय वा आधिकारिक संस्थामार्फत मात्र सहयोग गर्न आग्रह गर्नुभएको छ ।