कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला

<span class='c1'>कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित</span> <span class='c2'>समितिले मात्र गर्छ : डा.कोइराला</span>

काठमाडौं । नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेपनि पार्टीको वैधानिक दायित्वअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र पार्टीको विधानअनुसार पदावधि यही मंसिर मसान्तमा तथा नेपालको संविधानअनुसार थप छ महिनामा समाप्त हुने अवस्था रहेको उल्लेख गरेका छन् ।

स्थानीय तहको निर्वाचन २०८४ वैशाखमा र प्रदेशसभा निर्वाचन करिब एक वर्षमा हुने भएकाले पार्टीलाई समयमै अधिवेशनमार्फत व्यवस्थित र सुदृढ बनाउनुपर्ने उनले बताएका छन् ।

कोइरालाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले विगतमा प्रतिपादित सिद्धान्त र अभ्यासका आधारमा यथाशीघ्र टुंग्याउने र आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसको आधिकारिताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधि भित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुङ्याउँने र हामीले न्याय पाउँने छौं भन्ने गहिरो विश्वास पनि रहेको छ,’ उनले भने ।

पार्टीभित्रको विवाद समाधानका लागि आवेग, उत्तेजना, गालीगलौज र षड्यन्त्रभन्दा संयमता, धैर्यता, आत्मीयता र हार्दिकतालाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘आवेग, उत्तेजना, गालीगलौज तथा षड्यन्त्रका तानाबानाले होइन, संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ सम्पूर्ण लोकतन्त्रवादी व्यक्ति र समुदायको साथले पुनः सबै तहमा सबल, सक्षम र लोकप्रिय पार्टीका रूपमा नेपाली कांग्रेस निर्माण गर्नेछौँ।’

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै पनि पक्षले पार्टीमा थप विवाद सिर्जना गर्ने वा विभिन्न तहमा विभाजन ल्याउने गतिविधि गर्न नहुने कोइरालाले बताएका छन् ।

तर, एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनका गतिविधि अघि बढाउन लागेको विषयमा सर्वोच्च अदालतमा रोक माग गर्दै निवेदन दिइएको र अदालतबाट रोक्ने आदेश नआएको अवस्थामा वैधानिक कार्यसमितिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनले स्पष्ट पारेका छन् ।

उनले भने, ‘चौधौँ महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको बोध गर्दै पन्ध्रौँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी पुनः प्रक्रिया प्रारम्भ गरिनेछ ।’

कोइरालाका अनुसार पन्ध्रौँ महाधिवेशनका लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समिति गठनलगायतका काम अघि बढाइनेछ । त्यसपछि पार्टीका सबै तहमा अधिवेशन गरिने र अधिवेशन तथा महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरिने उनले बताएका छन् ।

‘यसका लागि पूर्वनिर्धारित कार्यतालिकाबमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठनलगायतका कार्यहरू गरी सबै तहका अधिवेशन गरिनेछ,’ उनले भने ।

विशेष महाधिवेशनबाट बनेको भनिएको स्वघोषित कार्यसमितिले गर्ने गतिविधिमा सहभागी नहुन पनि कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। उनले चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गर्ने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।

उनले भने, ‘तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका इमानदार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुक साथीहरूमा हार्दिक अनुरोध गर्दछु।’

यसैबीच, कोइरालाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले बाढीका कारण सयौँको ज्यान गएको, हजारौँ बेपत्ता भएको, सयौँ घाइते भएको र हजारौँ परिवार विस्थापित भएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । बाढी तथा विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत, सुरक्षित आवास र उचित क्षतिपूर्तिसहित पुनःस्थापनाको व्यवस्था गर्न उनले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्