काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन शाहले ९ वटा वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा भएको जानकारी दिएका हुन्।
यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री शाहले बताएका छन्। विपद्को विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग र उचित व्यवस्थापन सुनिश्चित गर्न सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेका खातामार्फत मात्रै आर्थिक सहयोग गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।
उनले सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’ को खातामा मात्र सहयोग रकम जम्मा गर्न अनुरोध गरेका छन्। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।