काठमाडौं । तिब्बत क्षेत्रबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय बस्तीमा ठूलो जनधनको क्षति भएपछि उद्धार गरिएका पीडितको अस्थायी व्यवस्थापनमा सामाजिक संस्था ‘करुणा केयर’ सक्रिय छ ।
संस्थाले नुवाकोटमा दुईवटा होल्डिङ सेन्टर सञ्चालन गरी करिब २९५ जना बाढीपीडितलाई आश्रय, खाना तथा आधारभूत राहतको व्यवस्था मिलाइरहेको छ । विशेषगरी रसुवा, नुवाकोट र धादिङमा बाढीको प्रभाव भयावह बनेको छ । बाढीले पक्की तथा झोलुङ्गे पुलदेखि नदी किनारका कैयौँ बस्तीसमेत बगाउँदा ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् । जलमग्न तथा जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली बुधबारदेखि नै प्रभावित क्षेत्रमा परिचालित छन् । उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी रूपमा राख्ने तथा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने कामसमेत तीव्र पारिएको छ । यही विपद्को घडीमा सरकारी निकायसँगै नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरू पनि राहत तथा उद्धारमा सक्रिय भएका छन् ।बाढीपीडितको घाउमा मलम लगाउने उद्देश्यले आफ्नो क्षमताअनुसार सहयोग गर्ने क्रम बढिरहेका बेला महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि क्रियाशील गैरसरकारी संस्था ‘करुणा केयर’ नुवाकोटमा प्रत्यक्ष रूपमा खटिएको छ । संस्थाले नुवाकोटमा दुईवटा होल्डिङ सेन्टर स्थापना गरी बाढीबाट उद्धार गरिएका नागरिकलाई अस्थायी आवास तथा आधारभूत सेवाको व्यवस्था मिलाइरहेको छ ।
करुणा केयरका प्रतिनिधि धनराज घिमिरेका अनुसार पहिलो सेन्टरमा करिब १७५ जना र दोस्रो सेन्टरमा करिब १२० जना गरी झन्डै २९५ जना बाढीपीडित आश्रित छन् । आश्रितमध्ये करिब ६० प्रतिशत बालबालिका र ४० प्रतिशत वयस्क रहेका छन् । बाढीबाट उद्धार गरिएका उनीहरूको अवस्था भने निकै कारुणिक छ । कतिपयले आफन्त गुमाएका छन्, कतिपय घरबारविहीन भएका छन् भने कतिपयको बाढीले भएको सम्पूर्ण सम्पत्ति नै बगाएको छ । अचानक आएको विपत्तिका कारण उनीहरू शारीरिक कठिनाइसँगै गहिरो मानसिक तनाव, त्रास र भविष्यप्रतिको अन्योलमा छन् । विशेषगरी बालबालिका, बिरामी तथा वृद्धवृद्धाको अवस्था थप संवेदनशील देखिएको छ । उनीहरूको आँखामा देखिने त्रास र निराशाले भौतिक राहतसँगै मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै रहेको देखाउँछ । विपत्तिपछि सुरक्षित स्थानमा पुगे पनि घर, परिवार र आफ्नो दैनिकी गुमाएका पीडितका लागि सामान्य जीवनमा फर्किन अझै लामो समय लाग्ने अवस्था छ । यस्तो कठिन परिस्थितिमा करुणा केयरले होल्डिङ सेन्टरमा आश्रित पीडितको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न तथा तरकारीको नियमित व्यवस्थापन गरिरहेको छ । स्थानीय बजारमै खाद्यान्नको अभाव भइरहेका बेला पनि सेन्टरमा रहेका नागरिकलाई खाना खुवाउने तथा आवश्यक आधारभूत सामग्री जुटाउने कामलाई संस्थाले निरन्तरता दिएको छ ।
यद्यपि, बाढीपीडितका दीर्घकालीन तथा थप राहतका आवश्यकताहरू सरकारले प्राथमिकताका साथ सम्बोधन गरिरहेको छ । उद्धारपछि सुरक्षित स्थानमा स्थानान्तरण, अस्थायी आवास, खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापनमा राज्यका सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र सामाजिक संस्थाबीचको सहकार्यले पीडितलाई तत्काल राहत पुगेको छ । बाढीले घर, परिवार र जीवनको आधार नै तहसनहस बनाएका पीडितका लागि यतिबेला राहतको एउटा प्याकेट वा सुरक्षित छानाभन्दा पनि ठूलो कुरा ‘हामी एक्लै छैनौँ’ भन्ने अनुभूति हो । नुवाकोटमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरहरू र त्यहाँ भइरहेको मानवीय सहयोगले विपत्तिमा परेका नागरिकलाई यही भरोसा दिलाइरहेको छ । सेन्टरमा ल्याइएका पीडितहरूको अवस्था निकै कारुणिक, मर्माहत र संवेदनशील छ । आफ्ना प्रियजन गुमाएका, घरबार विहीन बनेका र सर्वस्व बाढीले लगेपछि रित्तिएका नागरिकहरू गहिरो मानसिक तनाव (ट्रमा), त्रास र भविष्यको अन्योलमा छन् । बालबालिका, बिरामी तथा वृद्धवृद्धाहरूको आँखामा छाएको निराशा र पीडालाई सम्बोधन गर्न भौतिक राहतसँगै मनोसामाजिक आडभरोसाको समेत उत्तिकै खाँचो देखिएको छ ।
स्थानीय बजारमा खाद्यान्नको अभाव भइरहेको विषम परिस्थितिमा पनि करुणा केयरले सेन्टरमा रहेका पीडितहरूका लागि तरकारी तथा खानाको नियमित व्यवस्थापन मिलाइरहेको छ । प्राकृतिक विपत्तिले सिर्जना गरेको कठिन घडीमा राज्यका सुरक्षा अंगसँगै नागरिक समाज र सामाजिक संस्थाहरूले देखाएको सक्रियता तथा मानवीय संवेदनशीलता पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि महत्वपूर्ण बनेको छ । तत्कालीन राहतसँगै विस्थापित परिवारको दीर्घकालीन पुनस्र्थापना र मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै यस्ता प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ ।