विराटनगर। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले एशियन फिड्स प्रालिले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। आइतबार जारी विज्ञप्तिमार्फत एशियन फिड्सले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन परिस्थितिमा आफ्नो सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।

कम्पनीले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा सरकारलाई सहयोग गर्न अन्य फिड उत्पादक तथा व्यवसायीहरूलाई पनि आवश्यक सहयोगका लागि अघि आउन आग्रह गरेको छ। भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछि उद्धार तथा राहतसँगै पुनःस्थापनाको काम अघि बढिरहेका बेला विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम जारी छ।