सोनु साह
विराटनगर । विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रा यसवर्ष पनि भव्य रूपमा निकालिने भएको छ। ५९औँ राधाकृष्ण रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन आयोजक समितिले तयारी तीव्र पारेको छ। यसवर्ष पनि रथयात्रामा लाखौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
राधाकृष्ण रथयात्रा समितिका अध्यक्ष कैलास रेग्मीका अनुसार नेपालका विभिन्न स्थानसँगै भारतलगायत विदेशी मुलुकबाट समेत भक्तजन रथयात्रामा सहभागी हुने गरेका छन्। ठूलो संख्यामा भक्तजनको सहभागिता हुने भएकाले आयोजकले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता राख्नुपर्ने बताएको छ । यता जिल्ला प्रहरी कार्यालय मोरङले पनि सुरक्षाको विषयमा अहिले योजना बनाइरहेको बताएको छ । जिल्ला प्रशासन कार्यालयसँग भएको छलफलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गर्न माग गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए। भक्तजनको सहभागिता र आवश्यकताका आधारमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सुरक्षाकर्मी परिचालन गर्ने उनले बताए।
रथयात्रामा हुने ठूलो भीडलाई व्यवस्थित गर्न तथा चोरीलगायतका सम्भावित घटनालाई नियन्त्रण गर्न सुरक्षाकर्मीको उपस्थिति आवश्यक रहेको समितिको भनाइ छ। त्यस्तै, यसवर्ष करिब एक हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ। स्वयंसेवकले भक्तजनलाई सहजीकरण गर्ने, भीड व्यवस्थापन गर्ने, रथको बाहिरी भागको सुरक्षा गर्ने तथा रथयात्रा मार्गमा रहेका बोटबिरुवाको संरक्षणमा सहयोग गर्नेछन्।
यसवर्ष रथयात्रामा सहभागी हुने झाँकी टोलीको संख्या पनि बढ्ने भएको छ। गत वर्ष ७५ भन्दा बढी झाँकी टोली सहभागी भएकोमा यस वर्ष हालसम्म ९० भन्दा बढी टोलीले सहभागिताका लागि सम्पर्क गरी नाम दर्ता गराइसकेको अध्यक्ष रेग्मीले बताए। भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै रथयात्रा मार्गका विभिन्न १५ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको छ। ठाउँ–ठाउँमा खानेपानीको व्यवस्था पनि गरिनेछ।
रथयात्रालाई लक्षित गर्दै सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, जथाभावी झुन्डिएका विद्युतीय तथा अन्य तार व्यवस्थापन गर्ने कामसमेत भइरहेको छ। रथको रंगरोगन तथा पालिसको काम सम्पन्न भइसकेको छ भने रथ सजावटका लागि भारतको कोलकाताबाट फूल ल्याउने तयारी गरिएको छ। यसैबीच, समितिले यस वर्ष रथयात्राका क्रममा रसुवा बाढीपीडितका लागि उठेको भेटी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष रेग्मीले जानकारी दिए।
विश्वकै दोस्रो ठूलो रथयात्राका रूपमा परिचित विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते शनिबार आयोजना हुँदैछ। रथयात्रालाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन समिति, सुरक्षा निकाय तथा सम्बन्धित निकायले आ–आफ्नो तयारीलाई तीव्र बनाएका छन्।