विराटनगर । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरका युवा संगीतकर्मीहरूले मानवीय पहल गर्दै ७० हजार ९३६ रुपैयाँ सहयोग संकलन गरेका छन्।

‘म्युजिक फर होप’ नामक अभियानअन्तर्गत विराटनगरका विभिन्न स्थानमा लाइभ म्युजिक प्रस्तुत गर्दै बाढीपीडितका लागि रकम संकलन गरिएको हो। बुधबार विराटनगरको ट्राफिक चोक, सेन्ट्रल मल र भाटभटेनी क्षेत्रमा सांगीतिक कार्यक्रम आयोजना गरी संकलन गरिएको रकम जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालामार्फत दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोजक समितिका सदस्य जतिन ताम्राकारले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा राखिएको डोनेसन बक्समार्फत ६५ हजार ४२० रुपैयाँ र क्यूआरमार्फत ५ हजार ५१६ रुपैयाँ संकलन भएको थियो। संकलित सम्पूर्ण रकम भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कोषमा जम्मा गरिएको हो।

संगीत मनोरञ्जनको माध्यम मात्र नभई विपद्का समयमा मानवीय सहयोग जुटाउने प्रभावकारी माध्यमसमेत बन्न सक्ने सन्देश दिन अभियान आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विराटगरका युवा संगीतकर्मीहरूको सहभागिता रहेको थियो।
