विराटनगर । विराटनगरमा शनिबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सहभागी हुने भएका छन्। विशिष्ट अतिथिका रूपमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रहनेछन्।
राधाकृष्ण मन्दिर समितिले यसपटक रथयात्राको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई समेत निमन्त्रणा गरेको थियो। तर रसुवामा भएको ठूलो बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिका कारण प्रधानमन्त्री शाह रथयात्रामा सहभागी हुन नसक्ने सम्भावना रहेको समितिले जनाएको छ।
राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीले प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको भए पनि देशमा आएको प्राकृतिक विपद्का कारण उहाँको सहभागिता अनिश्चित रहेको बताए। उनले यसपटक रथयात्रालाई विगतको जस्तो धुमधामभन्दा पनि सहयोगात्मक र शोकमय वातावरणमा आयोजना गर्न लागिएको बताए। रसुवामा भएको बाढीको घटनाले देश नै शोकमा डुबेको अवस्थामा रथयात्रालाई समेत त्यसैअनुसार अघि बढाउने समितिको तयारी रहेको उनको भनाइ छ।
यसैक्रममा समितिले यसपटक रथयात्रामा डीजे पूर्ण रूपमा प्रतिबन्ध गरेको छ। धार्मिक तथा सांस्कृतिक पक्षलाई प्राथमिकता दिँदै भजन–कीर्तनलाई मात्र प्राथमिकता दिने तयारी गरिएको रेग्मीले बताए। रथयात्राका क्रममा रसुवा बाढीपीडितका लागि सहयोग संकलन गर्न तीन वटा गाडी समेत राखिने भएको छ। ती गाडीमार्फत संकलन भएको सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने समितिले जनाएको छ।
समितिका अनुसार रथयात्राको शुभारम्भअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पूजा–आराधना गर्नेछन्। राधाकृष्ण रथयात्रा भदौ २० गते शनिबार दिउँसो ३ बजे विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट निकालिनेछ।