विराटनगर । विराटनगरमा केहिदिन अगाडी दुई किशोरीलाई जेब्राक्रसबाट हिड्न अनुरोध गरिएको भिडियोमा अनर्थ लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्दा दुईजना युवा अनाहकमा प्रहरी नियन्त्रणमा परेका छन् । यस्तो काम अन्त कतैबाट नभई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयबाट भएको थियो ।
मुख्यमन्त्री कार्यालयका कम्प्युटर अपरेटर उमेश गजुरेलले गत बुधबार विराटनगरको महेन्द्र चोकको जेब्राक्रस नजिक एउटा भिडियो खिचेका थिए । उनले खिचेको भिडियोमा किशोरीलाई बाइकमा सवार एकजनाले इंगित गरिरहेको देखिन्थ्यो । तर, उनले किशोरीलाई जेब्राक्रसबाट हिड्न गरेको आग्रह थियो । त्यो भिडियोबाटै पुष्टि हुने कुरा थियो । जुन भिडियोमा युवाहरुले किशोरीप्रति गलत मनसाय राखेको बुझिदैन थियो । किनकी युवाहरु गइसकेपछि किशोरीहरुले कुनैपनि प्रतिक्रिया दिएका थिएनन् ।
गजुरेलले कुन तालमा खिचेको भिडियो दिउँसै युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै पोस्ट गरिदिए । त्यो सामाजिक सञ्जालमा भाइरल बन्यो । विराटनगरका हर्तकर्ता अनि क्याम्पसमा विद्यार्थीलाई पत्रकारिता पढाउनेसम्मले शेयर गरिदिए । त्यति मात्रै नभई तथ्य परीक्षण नगरी जताततै समाचार समेत बन्यो । जसका कारण प्रहरीले सामाजिक मनोविज्ञानको दवाव झेल्न नसक्ने महसुश गरेर युवाहरुलाई पक्रियो ।
त्यसपछि झन् प्रहरीको स्रोतका आधारमा समाचारहरु झन् बने । गजुरेलले मोटरसाइकलबाट पिछा गर्दै भिडियो खिचेका थिए । उनले आफ्नो मोटरसाइकलमै जडान गरेको क्यामेराबाट यो दृश्य कैद गरेका हुन् । गजुरेलले दुई युवा सवार मोटरसाइकललाई केही समयदेखि पछ्याइरहेजस्तो देखिन्छ । अगाडीको मोटरसाइकलमा विराटनगर महानगरपालिका–४ का महेश मण्डल र अर्का विराटनगरमै बसोबास गर्ने बाराका अखिलेशकुमार प्रसाद थिएछन् ।
तर, प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएको यही भिडियोका आधारमा ती दुई जना युवालाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले पीडितसम्म नपुगी वा पीडित नआउँदासम्म सामाजिक सञ्जालमा भाइरल भिडियोलाई आधार मान्यो । जसको अपजस प्रहरीले पनि लिनुपरेको छ, त्यस बाहेक दुईयुवा सँगै भिडियोमा देखिएका किशोरी समेत तनाव भएको भन्दै हारगुहार मागिरहेका छन् । उनीहरुले दुव्र्यवहार सहनु नपरेको सार्वजानिक प्रतिक्रिया दिइसकेका छन् । प्रहरी कार्यालयमा गएर उनीहरुले भिडियो खिच्ने र फैलाउनेहरुमाथि आक्रोश पोखेका छन् । भिडियो खिच्ने पहुँचवाला भएका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले भने घटनाक्रमहरु र परिस्थितिहरु जोडिएर भिडियो आएपछि प्रहरीले उनीहरुलाई सोधपुछका लागि ल्याएको बताएका छन् । तर, पीडितले पक्राउ परेकाहरु निर्दोष रहेको भनेपछि रिहा गरिएको छ ।