काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति बोध नारायण श्रेष्ठले मुलुकमा देखिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योगी तथा व्यापारीबीच प्रत्यक्ष बैठक गर्न आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यास नियमित रूपमा आइरहे पनि वितरण प्रणालीमा समस्या देखिएको बताए ।
उनले ग्यासको समस्या झन् जटिल बन्दै गएको भन्दै समस्या कहाँ छ भन्ने विषय जनताले समेत थाहा पाउने गरी छलफल गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘उद्योग मन्त्रीज्यूको पीडादायक भनाइ ग्याससँग सम्बन्धित थियो, त्यो तीनपटक भिडियोमा दोहोर्याएर सुनेँ । त्यस्तै सचिवज्यूलगायत कर्मचारीहरूको असल नियतका साथ ग्यासको समस्यालाई समाधान गर्ने प्रयासहरू पनि सुन्यौँ। तर ग्यासको समस्या उस्तै छ । झन् अप्ठेरो स्थितिमा गइराखेको छ र इन्डियाबाट नियमित रूपमा आइराखेको छ, तर वितरण प्रणालीमा कहीँ न कहीँ समस्या छ भन्ने कुरा बुझिन्छ । त्यसैले यस सन्दर्भमा मेरा केही सुझावहरु छन् ।’ श्रेष्ठले मन्त्रालय, आयल निगम, उद्योगी र व्यापारीलाई राखेर तत्काल प्रत्यक्ष बैठक गर्नुपर्ने बताए ।
उनले भने, ‘पहिले मन्त्रालय त्यसपछि आयल निगम, उद्योगी र व्यापारीहरूलाई राखेर एउटा लाइभ बैठक गरौँ । समस्या कहाँ छ, सम्पूर्ण जनताले थाहा पाऊन् । दोस्रो, उद्योगी र व्यापारीहरूले ढुवानी गरिरहनु भएको छ । २० वटा गाडीले ढुवानी गरिरहेको छ अब सयवटा गाडीले ढुवानी गरिदिउँ । यो समस्या तुरुन्तै समाधान हुन्छ ।’उनले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरे। । कृष्णभीरको पहिरोमा काम भइरहेकाले सडक खुलेपछि ग्यासको आपूर्ति पुनः नियमित हुने उनको भनाइ छ ।
श्रेष्ठले भने, ‘उपभोक्ताहरूले पनि ओभर स्टक नगरौँ, ओभर स्टकले पनि समस्या बनाएको छ । कृष्णभीरको पहिरोमा अहिले काम भइराखेको छ । यो खुल्नेबित्तिकै ग्यासको आपूर्ति फेरि नियमित हुन्छ । त्यसकारण सबैको दायित्व हो, समस्या समाधानमा उपभोक्ताहरूले पनि योगदान गरौँ । सरकारका तर्फबाट विद्युतीय चुलोहरू विशेष छुटमा दिने खालको योजनाहरू ल्याउन सकियो भने दीर्घकालीन रूपमा हामी ग्यासमा निर्भर हुनुपर्ने कुराहरूलाई पनि कमी गराउँछ ।’ कमान्ड सेन्टरले काठमाडौं उपत्यका, विपद् प्रभावित जिल्ला र अन्य क्षेत्रका लागि छुट्टाछुट्टै संयन्त्र बनाएर काम गर्नुपर्ने उनले बताए । श्रेष्ठले दीर्घकालीन रूपमा ग्यासमा निर्भरता घटाउन विद्युतीय चुलोको प्रयोग बढाउने र नेपालमै ग्यासका सम्भावित स्रोतको उत्खनन सुरु गर्नुपर्नेमा समेत जोड दिए।