काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विकास महासङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्सको समेत सहकार्य रहनेछ। मेलाको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ। आयोजकका अनुसार सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीमा यसपटक नेपाल तथा भारतका गरी १०० भन्दा बढी स्टल रहनेछन्। सबै स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ। प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी तथा विद्युतीय उपकरणसँगै इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ र फोहोर व्यवस्थापनसम्बन्धी आधुनिक प्रविधि प्रदर्शन गरिनेछ।
वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिँदै डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरी प्रदर्शनीलाई ‘पेपरलेस’ बनाइने आयोजकले जनाएको छ। त्यस्तै भूकम्पप्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श, रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। ओम हस्पिटल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको सहकार्यमा रसुवाका बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
प्रदर्शनी अवधिभर जलवायु परिवर्तन, विपद्प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीका विषयमा नीति निर्माता, निजी क्षेत्र, इन्जिनियर र आर्किटेक्टको सहभागितामा प्यानल छलफल गरिनेछ। युवा उद्यमीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ उद्यम सुरु गरेका युवालाई छनोट गरी निःशुल्क तालिम तथा परामर्शसमेत प्रदान गरिनेछ। आयोजकले हाल बैंकिङ क्षेत्रमा तरलता सहज र ब्याजदर घट्दो क्रममा रहेकाले उपभोक्तालाई घरघडेरी छनोट, वित्तीय निर्णय र लगानीका विषयमा जानकारी लिन प्रदर्शनी उपयोगी हुने जनाएको छ। मेलामा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ।
यसैबीच, आयोजकले रसुवाको बाढी प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकेको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।