विराटनगर-१४ का कर्मचारीमाथि वडा सदस्यद्वारा अपशब्द प्रयोग गर्दै गालीगलौज र कुटपिटको आरोप

<span class='c1'>विराटनगर-१४ का कर्मचारीमाथि वडा सदस्यद्वारा अपशब्द</span> <span class='c2'>प्रयोग गर्दै गालीगलौज र कुटपिटको आरोप</span>

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवास्थित वडा कार्यालयमा कार्यरत कर्मचारीमाथि वडा सदस्यले कुटपिट तथा गालीगलौज गरेको आरोप लागेको छ। सुकुम्बासीको लगत संकलनका क्रममा वडा सदस्य दिना यादवले भोलेन्टियरका रूपमा खटिएका कमलेश साहमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। विराटनगर महानगरपालिकाले १९ वटै वडामा सुकुम्बासीको लगत संकलनलाई तीव्रता दिएको छ। त्यसका लागि महानगरपालिकाका कर्मचारी र भोलेन्टियर गरी दुई टोली फिल्डमा खटिएका छन्। वडा नम्बर १४ मा पनि विगत चार दिनदेखि लगत संकलनको काम भइरहेको छ।

साहका अनुसार लगत संकलनका क्रममा वडा सदस्य यादव एक व्यक्तिको फाइल माग्दै कार्यालयमा आएका थिए। उक्त फाइल आफूहरूसँग नभएको भन्दै ‘एकछिन बस्नुहोस्, हामी खोज्दैछौँ’ भनेपछि वडा सदस्य केही समयका लागि बाहिर निस्किएको उनले बताए। त्यसै क्रममा आफूलाई घरबाट फोन आएपछि केहीबेर फोनमा कुरा गरिरहेको अवस्थामा वडा सदस्य फर्किएर ‘काम गर्न नसक्ने भए जाऊ’ भन्दै अपशब्द प्रयोग गरेको र कुटपिटसमेत गरेको साहको आरोप छ। उनका अनुसार आफूसँगै काम गरिरहेका अर्का एक व्यक्तिमाथि समेत हातपातको प्रयास भएको थियो।

घटनापछि कार्यालयमा कार्यरत कर्मचारीहरूले महानगरपालिकालाई जानकारी गराएका थिए। जानकारी पाएलगत्तै प्रहरीसहित महानगरपालिकाको वातावरण शाखा प्रमुख गोपाल निरौलाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि वडा कार्यालयमै घटनाबारे छलफल गरिएको थियो। छलफलका क्रममा वडा सदस्य यादवले कर्मचारी तथा वातावरण शाखा प्रमुख निरौलासँग समेत आक्रोशित शैलीमा प्रस्तुत भएको देखिने भिडियो सार्वजनिक भएको छ। भिडियोमा यादवले निरौलालाई समेत अपशब्द प्रयोग गर्दै ‘तिमी मलाई दादागिरी देखाउने’ लगायतका शब्द प्रयोग गरेको सुनिन्छ। महिला कर्मचारीसँग कुराकानी गर्दा समेत अमर्यादित भाषा प्रयोग गरिएको आरोप छ।

वातावरण शाखा प्रमुख निरौलाले आफू घटनाबारे बुझ्न कार्यालय पुगेको भए पनि वडा सदस्यको व्यवहार असभ्य र अमर्यादित रहेको बताए। कर्मचारीकै अगाडि अशोभनीय शब्द प्रयोग गर्नुका साथै आफू घटनाबारे बुझ्न पुगेका बेला समेत दुर्व्यवहार गरिएको उनको भनाइ छ। ‘जनप्रतिनिधिको काम कर्मचारी र सेवाग्राहीलाई सहजीकरण गर्ने हो,’ निरौलाले भने, ‘जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुने हो भने कर्मचारीले कसरी सहज वातावरणमा काम गर्ने’ निरौलाले घटनाबारे महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालालाई समेत जानकारी गराइसकेको बताए। घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही हुनुपर्ने उनको माग छ।

यता विराटनगर महानगरपालिका–१४ का वडा अध्यक्ष सूर्यनारायण महतोले भने घटनालाई कर्मचारी र वडा सदस्यबीच भएको सामान्य नोकझोकका रूपमा व्याख्या गरेका छन्। उनले कर्मचारीमाथि हातपात भएको कुरा अस्वीकार गरे। आरोप लागेका वडा सदस्य दिना यादवले पनि आफूले कुनै किसिमको हातपात वा दुर्व्यवहार नगरेको दाबी गरेकी छन्। कर्मचारीले सेवाग्राहीको काममा ध्यान नदिई मोबाइलमा व्यस्त रहेको देखेपछि आफूले कराएको उनको भनाइ छ।
‘काम गर्न इच्छा छैन भने कार्यालयबाट जानुस् भनेको हुँ,’ यादवले भनिन्, ‘कुटपिट वा दुर्व्यवहार गरेको होइन।यता कर्मचारीहरूले भने काममा कुनै कमजोरी वा गुनासो भए महानगरपालिका प्रशासनलाई जानकारी गराएर आफूहरूलाई फिर्ता पठाउन वा अर्को कर्मचारी पठाउन सकिने बताएका छन्। तर जनप्रतिनिधिबाटै कुटपिट र गालीगलौज हुनु कुनै पनि अवस्थामा स्वीकार्य नभएको उनीहरूको भनाइ छ। घटनामा संलग्न व्यक्तिमाथि छानबिन गरी आवश्यक कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्