काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।
असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ। उनी सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन्।
विराटनगर किङ्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ। टोलीले असलंकाको अनुबन्धसँगै एनपीएल सिजन–३ का लागि आफ्नो टोलीलाई अझ प्रतिस्पर्धात्मक बनाउने लक्ष्य लिएको जनाएको छ।
असलंकाले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा यूएईको इन्टरनेशनल लिग टी–२० लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन्। हाल उनी इंग्ल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंकाको कप्तानी गरिरहेका छन्।