विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित बीपी चोकमा गोली चलेको र मानिसको मृत्यु भएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रसारित समाचार भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार शनिवार साँझ करिब ५ः२५ बजे मध्येसाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप भएको थियो। झडपका क्रममा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादव घाइते भएका छन्। उनको पृष्ठभागमा चोट लागेको र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र सोही स्थानका २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनालाई लिएर गोली प्रहारबाट मानिसको मृत्यु तथा घाइते भएको भन्दै फैलाइएको सूचनामा सत्यता नरहेको स्पष्ट पारेको छ। प्रहरीले आधिकारिक स्रोतबाट पुष्टि नभएका यस्ता भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।
