विराटनगर असोज ६ ,
विराटनगर–१२ मलंगवास्थित श्री जनता बाल कल्याण आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विद्यालय पोसाक वितरण गरेको छ।
वि.सं. २०५८ सालमा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी न्यून आय भएका परिवारका छन्। आर्थिक अवस्थाका कारण विद्यार्थीलाई विद्यालय पोसाकको समेत अभाव रहेको थियो।
विद्यालयमा पोसाकको अभावबारे आवर विराटनगरले समाचार प्रकाशित गरेपछि नेपाली युवा उद्यमी मञ्च विराटनगरले सहयोगका लागि पहल गरेको हो।नेपाली युवा उद्यमी मञ्चले विराटनगरमा आयोजना गरेको कोरा २०२६ कार्यक्रमबाट प्राप्त रकममार्फत विद्यार्थीका लागि पोसाक उपलब्ध गराएको जनाएको छ।
नेपाली युवा उद्यमी मञ्च, आवर विराटनगर र विद्यालयबीचको समन्वयमा विद्यार्थीलाई पोसाक वितरण गरिएको हो। कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रोमन कट्टेल साथै अन्य सदस्यहरु साथै ओबी मिडियाका अध्यक्ष विवेक दाहाल , पत्रकार सोनु शाह लगायतको उपस्तिथी रहेको थियो ।
विद्यालयले विद्यार्थीको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा नेपाली युवा उद्यमी मञ्च विराटनगर र आवर विराटनगरलाई धन्यवाद दिएको छ।