विराटनगर । साथीको बुबा बिरामी परेर नोबेलमा भर्ना भएपछि सहयोगी बनेका विराटनगरका एक युवाको बैंक एकाउन्टमा एकलाख ५० हजार पैसा आयो । पैसा बिरामी भएका व्यक्तिकै छोराले अस्पतालमा बुझाउनका लागि पठाईदिन्छु भनेका थिए । साथीसाथी भएपछि उनको एकाउन्टमा आएको पैसा निकालेर अस्पतालमा बुझाए । पैसा पठाउने व्यक्ति जोसुकै भएपनि उनलाई मतलव भएन । पैसा आउनुको प्रयोजनसँग मात्रै सरोकार राखेका उनी त्यसबेला झसङ्ग भए जतिबेला उनको बैंक खाता कालोसूचीमा परो ।
त्यसपछि उनले बैंकमा बुझे । बुझ्दा खाता ब्लक गरिएको जानकारी पाए । किन ? भनेर बुझ्न जाँदा, अनलाइन ठगीमा प्रयोग भएको खुल्यो । खातावाला युवा बिरुद्ध ललितपुरका एकजना सेवाग्राहीको बैंकबाट पैसा ट्रान्सफर गरेर ठगी गरेको उजुरी प्रहरीमा लेखाइयो । यो घटना विराटनगरकै हो । अचम्म के छ भने, साथीको बुबा बिरामी हुँदा छोरा चाँहि भारतमा थिए । भारतमा भएका आफ्ना साथीले उनको बुबा बिरामी परेकोले सहयोग गरिदिन आग्रह गरेर पैसा पठाउन मागेको क्यूआरकोडबाटै उनी पीडक बने ।
तर, कसरी पीडक भएँभन्ने उनलाई जानकारी छैन । बैंक खाता स्क्याम्प गर्ने स्क्यामरका कारण उनी भने कि एकलाख ५० हजार बुझाउन तयार हुनुपर्ने स्थितिमा छन्, कि प्रहरीको अनुसन्धानमा । अर्काको भलो चिताएका ती युवा अहिले आफ्नै साथीसँग गुहार मागिरहेको सुनाउँछन् ।
खासगरी विराटनगर र आसपासका जिल्लामा पछिल्लो समय हुन्डी कारोबारीदेखि अनलाइन ठगी गर्ने स्क्याम्मर अनि क्रिप्टोकरेन्सी कारोबारको जालो पछिल्लो समय नराम्रोसँग फैलिएको छ । हुण्डि कारोबारीले पैसा ओसारपसारका लागि नगद बोकेर सीमा वारपार गर्नुपर्ने परम्परागत कार्य परिवर्तन भएको छ । उनीहरु व्यक्तिगत र व्यावसायिक प्रयोजनका नाममा खोलिएका बैंक खाताबाटै हुण्डिको रकम अनलाइन ट्रान्सफर गराउन थालिसकेका छन् ।
यसरी हुन्डीसहित क्रिप्टोकरेन्सी र अनलाइन ठगीको कारोबार भइरहेको देखिएको छ । गत साता जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरीले विराटनगरका दुईजना र धरानका एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उनीहरु हुन्डी कारोबारी हुन् । प्रहरी नियन्त्रणमा रहेकाहरुमाथि अनुसन्धान गर्दा २ अर्ब ६१ करोड रकमको कारोबार बैंक खातामार्फत हुन्डी, क्रिप्टोकरेन्सी र अनलाइन बेटिङ तथा ठगीमा देखिएको थियो ।
विराटनगर–१५ रानीका ४६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरज प्रसाद साहलाई सुनसरी प्रहरीले हुन्डी कारोबारमा संलग्न आरोपमा गत साता पक्राउ गरेको थियो । उनीहरुले व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाताको कारोबारबाट १ अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लको दावी छ ।
त्यसैगरी धरान–१३ का ज्योति शाहीलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ । उनले ५२ वटा विभिन्न बैंक र वित्तीय संस्थाका खातामार्फत १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको हुन्डीसहित क्रिप्टोकरेन्सी र अनलाइन बेटिङ र ठगीमा प्रयोग गरेको देखिएको छ । उनको ‘शाही मनी ट्रान्सफर’को नाममा ५२ वटा बैंक तथा वित्तीय संस्थाका खाता प्रयोग गरी १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँको हुन्डी कारोबार गरेको आरोप छ ।
हुन्डी कारोबारीले पैसा ओसारपसारका लागि नगद बोकेर सीमा वारपार गर्ने परम्परा छोडिएको छ । यो डिजिटल फ्रेममा प्रवेश गराएर कारोबारीले अर्को धन्दाको जालो फैलाएका हुन् ।