पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग

<span class='c1'>पत्रकारमाथिका अपराधमा दण्डहीनता</span> <span class='c2'>अन्त्य गर्न माग</span>

काठमाडौं । पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमको निष्कर्ष छ ।

पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २)का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई जवाफदेही बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । यस वर्षको दिवसको नारा ‘खतरा बदलिँदै छन, दण्डहीनता कायमै छ’ रहेको छ । फोरमका अनुसार २०५२ सालदेखि सुरु भएको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा हत्या तथा बलपूर्वक बेपत्ता पारिएका पत्रकारका परिवारले अझै न्याय पाउन सकेका छैनन् । द्वन्द्वकालमा तत्कालीन माओवादी पक्ष र राज्यका सुरक्षा निकायबाट भएका घटनासम्बन्धी उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा दर्ता भए पनि ती मुद्दा अझै टुंगिएका छैनन् । पत्रकारहरू द्वन्द्वका प्रत्यक्ष पक्ष नभई मानव अधिकार रक्षक भएकाले उनीहरूमाथिका अपराधलाई संक्रमणकालीन न्याय संयन्त्रको सट्टा नियमित फौजदारी न्याय प्रणालीबाट सम्बोधन गर्नुपर्ने फोरमको माग छ । फोरमले द्वन्द्वकालमा मारिएका पत्रकार नवराज शर्मा ‘वसन्त’, कृष्णबहादुर सेन, गोपाल गिरी, ईश्वर बुढाथोकी, कुमार घिमिरे, देवकुमार आचार्य, राजकुमार केसी, कमल एसी, महेश्वरी पहारी र अम्बिका तिमिल्सेनाका मुद्दा अझै आयोगमा विचाराधीन रहेको जनाएको छ ।

त्यस्तै, विस्तृत शान्ति सम्झौतापछि हत्या गरिएका पत्रकार जगतप्रसाद जोशी, खगेन्द्र श्रेष्ठ र देवीप्रसाद धितालका घटनामा अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि नबढेको फोरमको भनाइ छ । काठमाडौंमा गोली हानी हत्या गरिएका जमिम शाह तथा २०१५ को मधेश आन्दोलनमा ज्यान गुमाएका रोहन चौधरी र गणेश चौधरीका घटनामा पनि न्यायिक प्रक्रिया अघि बढ्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।द्वन्द्वकालमा बेपत्ता पारिएका धनबहादुर रोकाया मगर र मिलन नेपाली तथा त्यसपछि बेपत्ता भएका मदन पौडेल र प्रकाशसिंह ठकुरीको अवस्था अझै अज्ञात रहेको फोरमले जनाएको छ । पत्रकारमाथिको हिंसा द्वन्द्वकालमा मात्रै सीमित नरहेको उल्लेख गर्दै फोरमले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष अनुसन्धान हुन नसकेकोप्रति पनि चिन्ता व्यक्त गरेको छ । २०२५ मार्च २८ मा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको समाचार संकलनका क्रममा रजकको मृत्यु भएको थियो ।

त्यस्तै, २०२५ सेप्टेम्बर ८ मा भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कारबाहीमा गोली लागेर घाइते भएका पत्रकार शम्भु दंगाल, दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ र उमेश कार्कीका घटनामा पनि दोषीमाथि कारबाही नभएको फोरमले जनाएको छ । उक्त आन्दोलनका घटनाबारे गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी जिम्मेवार व्यक्तिमाथि थप स्वतन्त्र अनुसन्धान गर्न सिफारिस गरे पनि कार्यान्वयनमा ठोस कदम नचालिएको विज्ञप्तिमा उल्लेख छ ।

फोरमको प्रतिवेदनअनुसार २०२५ नोभेम्बर १ देखि २०२६ अक्टोबर ३१ सम्म नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबाट १०३ जना पत्रकार प्रभावित भएका छन् । प्रभावितमध्ये ९१ पुरुष र १२ महिला छन् । पछिल्लो समय सञ्चारमाध्यमका कार्यालयमा सुरक्षा निकायको प्रवेश र पत्रकार पक्राउका घटनाले पत्रकारको सुरक्षामा थप चुनौती देखिएको फोरमको भनाइ छ ।

फोरमले पत्रकारमाथिका अपराधमा संलग्नलाई जवाफदेही बनाउन, द्वन्द्वकालीन घटनालाई नियमित फौजदारी न्याय प्रणालीबाट अघि बढाउन तथा पीडित पत्रकार र उनीहरूका परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्