हामीले खेलिरहेको ‘स्टोन स्किपिङ’ खेल प्रतिस्पर्धा कार्तिक २४ गते मधुवनमा

<span class='c1'>हामीले खेलिरहेको ‘स्टोन स्किपिङ’ खेल</span> <span class='c2'>प्रतिस्पर्धा कार्तिक २४ गते मधुवनमा</span>

विराटनगर । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्धन’ भन्ने मूल नारासहित स्टोन स्किपिङ च्याम्पियनसिप नेपालले चौंथो संस्करणको प्रतियोगिता सुनसरीको वराहक्षेत्र नगरपालिका–११, मधुवनस्थित तीनटोलिया पोखरीमा आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजनामा आगामी कात्तिक २४ गते गोवर्धन पूजाका दिन बिहान १० बजेदेखि प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस वर्षको प्रतियोगितामा मधुवन क्षेत्रको पर्यटन प्रवर्धनसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने लोपोन्मुख पानीचरा सीम तित्रा (स्वाम्प फ्रान्कोलिन) को प्रचारप्रसार र संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ ।
यसअघि सप्तकोशी नदी, चतरा नहर र अमाहा सिमसारमा प्रतियोगिता आयोजना गरिएको थियो । ती क्षेत्रको पर्यटकीय तथा जैविक महत्त्व उजागर गर्दै आएको समूहले यस वर्ष मधुवनको तीनटोलिया पोखरीलाई प्रतियोगिताको स्थल बनाएको हो ।

स्टोन स्किपिङ अर्थात् पानी सुल्के नदी, नहर, ताल वा पोखरीको सतहमा चप्टो ढुङ्गा फ्याँकेर पटक–पटक उफार्ने खेल हो । ढुङ्गा पानीमा कति पटक उफ्रिन्छ भन्ने आधारमा यस खेलको प्रतिस्पर्धा गरिन्छ । नेपालका जलस्रोत आसपासका समुदायमा परम्परागत रूपमा मनोरञ्जनका लागि खेलिँदै आएको यस गतिविधिलाई प्रतियोगितात्मक स्वरूप दिने पहल चतरा हाइकिङ समूहले गरेको हो ।

समूहले २०७९ सालदेखि चतरा आसपासका हाइकिङ मार्ग, ऐतिहासिक तथा पुरातात्त्विक स्थलको प्रचार र संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । स्टोन स्किपिङ प्रतियोगिता पनि यही अभियानअन्तर्गत आयोजना हुँदै आएको हो । विश्वका विभिन्न देशमा खेलिने स्टोन स्किपिङको विश्व कीर्तिमान अमेरिकी नागरिक कर्ट स्टेइनरको नाममा छ । उनले सन् २०१३ मा ढुङ्गालाई पानीको सतहमा ८८ पटक उफारेर कीर्तिमान कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्