विराटनगर । विराटनगरको जैन भवनमा आज भव्य सांगीतिक कार्यक्रम हुँदैछ । लाइभ इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको पाँचौँ संस्करणको ‘विराटनगर म्युजिक फेस्टिवल–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रस्तुति दिन काठमाडौंँबाट नेपालका चर्चित सांगीतिक ब्यान्ड एल्बाट्रस र रकहेट्स हिजै विराटनगर आइपुगेका छन् । दुवै ब्यान्डले कार्यक्रमस्थलमा साउण्ड चेकसमेत गरिसकेका छन् । विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको म्युजिक फेस्टिवललाई यसपटक थप भव्य र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय स्तरको साउण्ड सिस्टम, आकर्षक लाइटिङ र भव्य स्टेज निर्माण गरिएको कार्यक्रम संयोजक सेन्ट्रो महतले जानकारी दिए ।


यसपटकको फेस्टिवलमा नेपालकै चर्चित ब्यान्ड एल्बाट्रस र युवा पुस्तामाझ लोकप्रिय रकहेट्सले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई झुमाउनेछन् । त्यस्तै, चर्चित मोडल तथा होस्ट रोनिश्मा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन् ।
चर्चित ब्यान्डहरूको लाइभ प्रस्तुति, आकर्षक स्टेज, अत्याधुनिक साउण्ड सिस्टम र स्थानीय कलाकारहरूको सहभागिताले यसपटकको फेस्टिवल विशेष हुने अपेक्षा आयोजकको छ ।
आयोजकका अनुसार कार्यक्रमका लागि उपलब्ध अधिकांश टिकट बिक्री भइसकेका छन् । दर्शकका लागि आज दिउँसो ४ बजेदेखि प्रवेशद्वार खुला गरिनेछ ।
संगीतप्रेमी युवापुस्तालाई लक्षित गरी आयोजना गरिएको फेस्टिवलले विराटनगरको सांगीतिक माहोललाई थप उत्साहित बनाउने विश्वास आयोजकले गरेको छ ।