विराटनगर । सडकमा बनेका खाल्डाखुल्डी लामो समयसम्म सम्बन्धित निकायले मर्मत नगरेपछि विराटनगरका स्थानीयवासी आफैँ सडक मर्मतमा जुटेका छन् ।
विराटनगरको रोडशेष चोकदेखि तालिम केन्द्र चोकसम्मको सडकमा लामो समयदेखि खाल्डाखुल्डी अलपत्र अवस्थामा रहेपछि विराटनगर–१३ स्थित सैनिक टोल समाजसेवा समिति, सौगात सहकारी संस्था, स्थानीयवासी तथा मोरङ ट्राफिक प्रहरीको समन्वयमा खाल्डा पुर्ने काम गरिएको हो । स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायलाई सडक मर्मतका लागि आग्रह गरे पनि सुनुवाइ नभएपछि आफ्नै खर्चमा रकम संकलन गरेर सडकका खाल्डाखुल्डी पुर्नुपरेको स्थानीय सामाजिक अभियन्ता बन्द्री न्यौपानेले जानकारी दिए ।



उनका अनुसार रोडशेष चोकदेखि तालिम केन्द्र चोकसम्मको सडकमा रहेका झन्डै चार दर्जनभन्दा बढी खाल्डाखुल्डी बालुवा, गिटी र सिमेन्ट प्रयोग गरी पुरिएको छ । यसअघि पनि सोही क्षेत्रका स्थानीय युवाहरूले सडकका खाल्डाखुल्डी आफैँ पुर्ने अभियान चलाएका थिए। सवारीसाधनको आवागमन बढी हुने सडकमा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सर्वसाधारणले सास्ती भोग्दै आएका थिए।
सडक मर्मत तथा सम्भारको जिम्मेवारी सम्बन्धित सरकारी निकायको भए पनि स्थानीयवासी आफैँले रकम जुटाएर सडक मर्मत गर्नुपर्ने अवस्था आउनुले सरकारी निकायको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीयवासीको यो सक्रियताले तत्कालका लागि सडकका खाल्डाखुल्डीबाट केही राहत दिए पनि सडकको दीर्घकालीन मर्मत र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।