विराटनगर । राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षा तथा लक्षित वर्गका सुविधा वास्तविक गरिब परिवारसम्म पुर्याउने उद्देश्यले विराटनगर महानगरपालिकाले गरिब परिवार परिचयपत्र वितरणको तयारी अघि बढाएको छ । महानगरका १९ वटै वडामा पहिचान भएका २ हजार २५७ गरिब परिवारलाई वडास्तरबाटै परिचयपत्र वितरण गर्ने योजना महानगरले बनाएको हो ।
संघीय सरकारको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत महानगरमा प्राप्त परिचयपत्र सम्बन्धित वडामार्फत लाभग्राहीसम्म पुर्याउन लागिएको छ । यसैक्रममा महानगरका प्रमुख नागेश कोइरालाले वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीलाई गरिब परिवार पहिचान तथा परिचयपत्र हस्तान्तरण गरेका छन् । महानगरले उपलब्ध गराउने परिचयपत्र अब वडास्तरबाट वितरण हुनेछ । हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र सूचना अधिकारीसमेत रहेका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको उपस्थिति थियो । महानगरले परिचयपत्र वितरणलाई वडास्तरबाट व्यवस्थित बनाउँदै पहिचान भएका परिवारसम्म सहज पहुँच पुर्याउने तयारी गरेको छ ।
महानगरको तथ्यांकअनुसार विराटनगरमा पहिचान भएका २ हजार २५७ गरिब परिवारमध्ये ४९८ परिवार अति गरिब, १ हजार ४२ परिवार मध्यम गरिब र ७१७ परिवार सामान्य गरिबको सूचीमा छन् । महानगरभित्र कुल ३८ हजार ६१९ घरपरिवार रहेको तथ्यांकले देखाएको छ । यसअनुसार महानगरका कुल घरपरिवारमध्ये करिब ५ दशमलव ८४ प्रतिशत परिवार गरिबीको सूचीमा समेटिएका छन् । गरिबीको अवस्थाका आधारमा परिवारलाई विभिन्न वर्गमा विभाजन गरी परिचयपत्र उपलब्ध गराउन लागिएको हो । यसबाट आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका परिवारको पहिचान गर्न, उनीहरूको आवश्यकता सम्बोधन गर्न र राज्यका लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । महानगर प्रमुख कोइरालाले गरिब परिवारको पहिचान र परिचयपत्र वितरणलाई राज्यका सुविधा वास्तविक लाभग्राहीसम्म पुर्याउने महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको बताए । उनले पहिचान भएका परिवारले परिचयपत्र प्राप्त गरेपछि उनीहरूको आर्थिक तथा सामाजिक अवस्था र आवश्यकताका आधारमा लक्षित कार्यक्रम सञ्चालन गर्न सहज हुने बताए ।
उनका अनुसार गरिब परिवारको पहिचान कागजमा सीमित नराखी त्यसलाई उनीहरूको जीवनस्तर सुधारसँग जोड्न आवश्यक छ । महानगरले संघीय सरकारको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वास्तविक लाभग्राहीले राज्यबाट पाउनुपर्ने सुविधा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत शर्माले परिचयपत्र वितरणलाई व्यवस्थित, पारदर्शी र लक्षित परिवारमै केन्द्रित गर्ने गरी महानगरले काम अघि बढाएको बताए । उनले वडा कार्यालयमार्फत परिचयपत्र वितरण गर्दा लाभग्राहीको पहिचान, विवरण प्रमाणीकरण र अभिलेख व्यवस्थापनमा सहजता हुने बताए । परिचयपत्र वितरणसँगै सम्बन्धित परिवारलाई राज्यका लक्षित सेवा तथा सुविधासँग जोड्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । नेपाल सरकारले २०७५ सालदेखि गरिब परिवार पहिचान तथा राज्य सुविधा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक रूपमा कमजोर परिवारको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई राज्यका विभिन्न सेवा, सुविधा र सहुलियतमा प्राथमिकता दिने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।