अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै दुई अधिकृतलाई हिरासतमा राखेको छ । अनुुसन्धानमा रहेको भ्रष्टचार मुद्दा मिलाइदिने भन्दै दुई लाख रुपैयाँ घुस लिएका उनीहरूलाई अख्तियारले मंगलबार पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा कार्यरत शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ शर्मा पक्राउ परेका हुन् । अख्तियारले दुवै अधिकृतलाई निलम्बन गरी थप छानबिन थालेको छ ।
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयोगको भ्रष्टचारविरुद्धको गरिमाय अभियानमा धब्बा लगाउने निकृष्ट र निन्दनीय कार्य गरेकाले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको ट्विट गरेका छन् । उनले अख्तियारका कर्मचारीले अनुचित लाभका लागि रकम माग गरेमा सूचना दिएर भ्रष्टचारविरुद्धको अभियानमा सहकार्य गर्न पनि अनुरोध गरेका छन् ।
अख्तियारका अनुसार अमात्य र शर्माले पर्वतको जिल्ला स्वास्थ्य कार्यालयमा भएको भ्रष्टाचार मुद्दा मिलाइदिने भन्दै कार्यालय प्रमुख डा. नारायण ओझासँग दुई लाख रुपैयाँ घुस लिएका थिए । आफ्नै अधिकृतले घुस लिएको उजुरी केन्द्रीय कार्यालयमा परेपछि उनीहरूमाथि आन्तरिक छानबिन भएको थियो । छानबिनका क्रममा क्षेत्रीय कार्यालयका अधिकृतद्वय अमात्य र शर्माले अनुसन्धानमा रहेको मुद्दा मिलाइदिने भन्दै दुई लाख रुपैयाँ घुस खाएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीका अनुसार भदौदेखि पर्वत जिल्ला स्वास्थ्य कार्यालयको अनियमितताबारे छानबिन हुँदै आएको छ । स्वास्थ्य कार्यालयमा औषधिलगायतका सामान खरिदमा भ्रष्टचार भएको उजुरी आयोगको क्षेत्रीय कार्यालय पोखरामा परेको थियो । आयोग क्षेत्रीय कार्यालयले अमात्य र शर्मालाई अनुसन्धान अधिकृत तोकेर छानबिनमा खटाएको थियो । उनीहरू छानबिन गर्न पटक–पटक स्वास्थ्य कार्यालयमा गएका थिए । अख्तियारका अनुसार स्वास्थ्य कार्यालयकै केही कर्मचारीले बिचौलिया बनेर उनीहरूलाई घुस दिएका थिए । घुस दिएपछि छानबिन प्रक्रिया सुस्त भएको थियो ।
कसरी भयो डिल ?
अख्तियारका अनुसार पर्वत स्वास्थ्य कार्यालयमा अनियमितताबारे छानबिन गर्न भदौमै क्षेत्रीय कार्यालयले टोली खटाएको थियो । टोलीले मंसिरदेखि छानबिनमा तीव्रता दिएको थियो । अनुसन्धान अधिकृतद्वय विनोद अमात्य र तोयानाथ शर्माले पटक–पटक पर्वतमै पुगेर कार्यालय प्रमुख डा. नारायण ओझालगायत कार्यालयका कर्मचारीसँग सोधपुछ गरेका थिए । औषधि खरिददेखि अन्य निर्माण कार्यका फाइलसमेत कब्जामा लिएका थिए ।
अख्तियारले फाइलसमेत लगेर छानबिन थालेपछि तनावमा परेका कार्यालय प्रमुख डा. ओझाले घुस खुवाएर मिलाउने कोसिस गरेका थिए । उनले केही बिचौलिया र आफ्नै कर्मचारी प्रयोग गरेर घुसको प्रस्ताव राखेका थिए । स्रोतका अनुसार प्रस्ताव आएपछि अधिकृतद्वय अमात्य र शर्माले सुरुमा दुई लाख ५० हजार मागेका थिए । पछि उनीहरू दुई लाख रुपैयाँमा सहमत भएको स्रोतको भनाइ छ ।
अख्तियार स्रोतका अनुसार डा. ओझाकै योजनामा स्वास्थ्य कार्यालयका केही कर्मचारी र बाहिरी बिचौलियाबाट एक महिनाअघि दुई लाख रुपैयाँ घुस लिएको अमात्य र शर्माले बयान दिएका छन् । हिरासतमा रहेका उनीहरूले घुस लिएको स्वीकार गरिसकेको अख्तियारले जनाएको छ ।
कसरी खुल्यो रहस्य ?
अनियमितताबारे भदौदेखि थालिएको छानबिन मंसिरमा एकाएक सेलाएपछि स्वास्थ्य कार्यालयकै केही कर्मचारीले चासो राखेका थिए । डा. ओझाले अख्तियारका अनुसन्धान अधिकृतलाई घुस खुवाएको थाहा पाएपछि केही कर्मचारी र स्थानीय बासिन्दाले आयोगको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए ।
अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीका अनुसार अधिकृतद्वय अमात्य र शर्माले घुस खाएको उजुरी परेपछि करिब १५ दिनअघि उनीहरूमाथि छानबिन सुरु भएको थियो । उनीहरूलाई केन्द्रमा झिकाएर बयान लिइएको थियो । बयानका क्रममा उनीहरूले दुई लाख रुपैयाँ घुस लिएको स्वीकार गरेका हुन् । अख्तियारले डा. ओझालाई पनि केन्द्रीय कार्यालयमा बोलाएर बयान लिएको थियो । ओझाले पनि घुस खुवाएको स्विकारेको एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
अख्तियारले ओझामाथि पनि थप अनुसन्धान थालेको छ । घुस खुवाउन सहयोग गर्ने स्वास्थ्य कार्यालयका केही कर्मचारी र बिचौलियामाथि पनि अख्तियारले छानबिन थालेको छ ।