विराटनगर । सुनसरीको चतराका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबा भनेर चिनिने कृष्णदासलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ ।
आफ्नै आश्रमकी अनुयायी माथी करणीको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो ।
सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धानलागि म्याद थपेको हो । अदालतले यसअघि तीन पटक गरि कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ । सोमबारबाट लागु हुने गरि थप भएको ७ दिनमा प्रहरीलाई थप अनुसन्धान सहित उपस्थित गराउन भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले अदालतको आदेश बमोजिम तत्कालका लागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको छ । यसअघि प्रहरीले ३ दिनको म्यादसँगै कृष्णदासको मुद्धा अदालत समक्ष्य बुझाइने बताएको थियो । सोही अनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाएपनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले पूनः म्याद थपको माग सहित अदालत पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद प्राप्त भएको बताइएको छ ।