विराटनगर । फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघको पहिलो महाधिबेशन बिराटनगरमा बिहिवार हुँदैछ । महाधिवेशन मूल आयोजक समितिका संयोजक वेदराज पौडेलले पहिलो पटक महाधिबेशन गर्न लागिएको जानकारी दिए । महाधिवेशनको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुखबाट उदघाटनको तयारी गरिएको उनको भनाई छ । बन्दसत्रले आगामी तीन बर्षको लागि नयाँ केन्द्रिय समिति चयन गर्नेछ । 
अग्रजप्रतिको आदर र नयाँ पत्रकारहरु प्रतिको स्नेहलाई निरन्तरता प्रदान गर्नको लागि महाधिवेशनमा प्रदेश १ का अग्रज पत्रकार मोहन भण्डारी र हर्ष सुब्बालाई जनही २१ हजार १ सय नगद सहित सम्मान गरिने पौडेलले बताए ।
विराटनगरलाई देशभरका फोटो पत्रकार र पर्यवेक्षक पत्रकारहरुसंग यहाँको राजनीतिक, औद्योगिक, पर्यटकीय एवं ऐतिहासिक विशेषतासंग साक्षात्कार गराउने अवसरको रुपमा रहेको आयोजक समितिले जनाएको छ ।
पुस ४ गते प्रतिनिधि तथा पर्यवेक्षकहरुले विराटनगर १८ बुधनगर भेडियारीमा रहेको विराटराजाको दरबार अवलोकन गर्नेछन् । त्यसपछि सुनसरीमा रहेको ऐतिहाँसिक महाभारतकालिन बर्जु तालको निरिक्षण तथा चराहरुको अवलोकन गरी कोशीटाप्पु तर्फ प्रस्थान गर्ने छ । महाधिवेशनको समापन उद्योग वन पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियेतले गर्नेछन् ।
महाधिवेशनमा देशभरका विभिन्न जिल्लाबाट करिब दुईसय संख्यामा प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिती रहने छ । महाधिवेशनमा १० लाख लागत लाग्ने अनुमान गरिएको छ । गोरखापत्रमा वि.स. १९८४ बैशाख १३ गते पहिलो छापिएको फोटोलाई नेपाली फोटो पत्रकारहरुले फोटो दिवसका रुपमा मनाउदै आएका छन् ।