विश्वभर कोरोनाभाइरसका कारण २० हजार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको रिपोर्टमा २० हजारजनाको मृत्यु भएको उल्लेख छ ।
विश्वका यी दश देश छन् जहाँ कोरोनाभाइरसको असर बढी परेको छ ।
त्यसमध्ये पहिलोमा इटली रहेको छ भने दोस्रोमा चीन रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ ।
इटलीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार १६० जनाको मृत्यु भएको छ । स्पेनमा २ हजार ८०८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी इरानमा १ हजार ९३४ जना, फ्रान्समा १ हजार १ सय जना, अमेरिकामा ७७५ जना, बेलायतमा ४२२ जनाको मृत्यु भएको छ । त्यसैगरी नेदरल्यान्ड्समा २७६ जना, जर्मनीमा १५७ जना र बेल्जियममा १२२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विश्वभर कम्तिमा पनि चारलाख जनालाई यो संक्रमण देखिएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अहिलेसम्म चार लाख २० हजार जना कोरोना संक्रमित छन् ।
कोरोना संक्रमित भने सबैभन्दा बढी चीनमा रहेका छन् । जहाँ ८१ हजार ५९१ जनाको संक्रमित छन् । इटलीमा ६९ हजार १७६ जना संक्रमित छन् भने अमेरिकामा ५३ हजार ७४० जना संक्रमित छन् ।