घाँटीमा तरबार झुड्याएर
शताब्दीको ढोकामा
ठिङ्ग उभिएको छ समय ।
मौसमबाट बलात्कृत भएको छ फूल
काँडाको टुप्पोमा उभिएर
रातले गरिरहेछ जीवनको अन्तिम भाषण
बादलको जुत्ता लगाएर
विश्वयात्रामा निस्किएको छ बतास ।
हुरीको ढाडमा चढेर
सत्ताको भर्याङ चढिरहेछ आँधी
शीतसँग चिप्लेटी खेल्दै
घामले गाइरहेछ आतंकको गीत
जुनले लेखिरहेछ
अँध्यारोको आत्मकथा
बगाइरहेछन् ताराहरूले
पीडाको आँसु ।
सभ्यताको आदिम पर्खाल भत्काउँदै
पसेको छ बस्तीमा बाढी
पानीको जंगलभरि लागिरहेछ
विचारको डँडेलो
हिउँको आगोमा
पोलेर खाइरहेछ सिकारीले
युगको मुटु, कलेजो र फोक्सो ।
एक्लै हिंड्न डराइरहेछ सडक
किनारबाटै असुरक्षित छ नदी
जरादेखि नै त्रसित छन्
लस्करै उभिएका आदिवासी रुख
भक्तसँगै सशंकित छ भगवान ।
कुरूप समयको शैय्यामा
यतिबेला छटपटाइरहेछ
रोगले ग्रस्त बूढो पृथ्वी
उपचार गर्न नसकेपछि
गालामा हात राखेर
प्रयोगशालाको कुनामा
झोक्राइरहेछ विज्ञान ।
–मीनकुमार नवोदित