विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछिको लकडाउनले थलिएको सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान बन्दै गएको छ । सरकारले आह्वान गरेको तीन महिने बन्दाबन्दीपछि त्यसलाई चिर्दै उद्योगहरु खुल्न थालेका हुन् । यद्यपी पूर्ण क्षमतामा सञ्चालन, उत्पादन र व्यवस्थापनको स्थिति आईनसकेको भएपनि पछिल्ला दिनमा करिडोर क्षेत्र चलायमान भएको उद्योगी–व्यवसायी बताउँछन् ।
उद्योगीहरुले पर्ख र हेर को अवस्थामा रहेरै उद्योगहरु सञ्चालनमा ल्याएका छन् । कोरोना भाईरस संक्रमणले पुनः समस्या पार्ने संभावनालाई उद्योगी–व्यवसायीले आकंलन गरिरहेका छन् । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाm बन्दाबन्दीको अवस्था पुनः झेल्नु नपरे औद्योगिक करिडोर ६५ प्रतिशत क्षमतामा फर्किसकेको बताउँछन् । उद्योगहरु थप चलायमान बन्नका लागि बजारको चहलपहल र उत्पादन सामाग्री माग बढ्नु पर्नेहुन्छ । उनले उत्पादन मात्रै गर्ने र माग नहुने अवस्था लामो अवधीसम्म रहे पुनः उत्पादन कटौती गर्नुपर्ने अवस्था आउने बताए ।
करिडोरका शतप्रतिशत उद्योगहरु सञ्चालनमा आएपनि उत्पादन भने ६५ प्रतिशत मात्रै छ । करिडोरमा साना, मझौला र ठूला गरि छ सय उद्योगहरु सञ्चालनमा रहेको दावी गरिदैं आएको छ । ती उद्योगमा काम गर्दै आएका ३० हजार नेपाली मजदुर काममा फर्किसकेका छन् छन् ।
स्थानीय कामदारलाई काममा फर्काएका छौं, मोरङ व्यापार संघका महासचिव अनिल साहले भने, कुनैकुनै उद्योगमा रहेका चार मेशिनमध्ये दुईवटा मात्रै पनि चलेका छन् । उद्योगीहरुले सिफ्ट घटाउने र दैनिक ज्यालादारीका मजदुरहरुलाई आलोपालो प्रणालीमा काम लगाउँदै आएका छन् ।
उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठीले खाद्यन्न उत्पादन गर्ने उद्योगहरु लकडाउनभर नै सञ्चालनमा खासै समस्या नभएको बताउँदै अन्य उद्योगहरु क्रमशः लयमा फर्कदैं गरेको बताएका छन् । उनले दैनिक आवश्यता परिपूर्ति गर्ने किसिमका सामान उत्पादन हुने उद्योगलाई समस्या नभएपनि त्यस बाहेकका उद्योगका उत्पादन बृद्धि गर्न बजारमा निर्भर रहनुपर्ने बताए । बजार कसरी चलायमान हुन्छ, उद्योग त्यहि गतिमा चल्छ, राठीले भन्छन्, दशैंसम्ममा पूर्ण रुपमा पूर्ववत अवस्थामा फर्कन्छौं तर यसपछि कोरोना संक्रमणको जोखिम कस्तो स्वरुपमा फैलन्छ ।
सुनसरी–मोरङ करिडोरका उद्योगहरुमा कार्यरत कामदार तथा मजदुरमध्ये ५ प्रतिशत भारतीय रहेका छन् । उद्योगमा प्राविधिक र लेखा प्रणाली हेर्ने भारतीय दक्ष कामदार समेत फर्केर आईसकेका छन् ।
प्राविधिक रुपमा मेशिनको मुख्य अपरेट नै भारतीय छन् भने उनीहरुलाई बोलाएर ल्याउनुपर्ने बाध्यता उद्योगीहरुलाई छ, संगठनका कोषाध्यक्ष राठीले भने–सुरक्षित भित्र्याउने, स्वास्थ्य परीक्षण गर्ने र सुरक्षित तवरले काममा खटाउने कुरालाई हामीले थप जिम्मेवारी ठानेका छौं । यसरी बोलाइएका प्राविधिक जनशक्तिलाई उद्योगहरुले विशेष स्वास्थ्य बन्दोबस्तीसहित परिचालन गरेका हुन् ।
उद्योग परिसरमा अनिवार्य तापक्रम परीक्षण गर्ने, मास्क तथा ग्लोब्सको उपलब्धता, हातधुने साबुन र पानीको सुविधा, स्यानिटाइजरको सुविधाको प्रवन्ध मिलाइएको उद्योगीहरुले बताएका छन् । जोखिम सबैलाई उतिकै रहेकोले मजदुरको सुरक्षासँगै अनावश्यक भीड तथा भेलाजम्मा र कुराकानीका लागि उद्योग प्रशासनले रोक लगाएको छ ।
ट्रेड यूनियन महासंघ प्रदेश १ का जिफन्टका अध्यक्ष किशोर धमलाले उद्योगहरु धमाधम खुल्न थालेकोले मजदुरहरु काममा फर्केको भएपनि पूर्ण आशावादी नरहेको बताएका छन् । चैत महिनामा मजदुरलाई दिनुपर्ने पारिश्रमिक ९० प्रतिशत उद्योगले दिएनन् । स्थायी कामदारलाई उद्योगहरुले दिएपनि दैनिक ज्यालादारीले पाएनन् । त्यसपछिका महिनामा उद्योगीहरुले लकडाउन अवधीको आधा रकम दिएका छैनन् ।
समग्र उद्योग ट्रेड यूनियन नेपाल प्रदेश १ का अध्यक्ष मनोज मगरले उद्योगीहरुले मजदुरको स्वास्थ्य सुरक्षामा सन्तोषजनक व्यवस्थापन मिलाएर उद्योग खुलेपनि मजदुरको रोजीरोटीप्रति उद्योगीहरु जिम्मेवार नभएको बताएका छन् । उद्योगहरु भित्रै सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले मजदुरलाई सिफ्ट बिभाजन गरेर काम लगाइरहेको बताउँदै उनले लकडाउन अवधीको पारिश्रमिकलाई पेश्कीस्वरुप निकासा गरिएकोले मजदुरहरु अन्यौलमा रहेको बताएका छन् ।