एन्जु शिवाकोटी
विराटनगर । साउन महिना सुरु भएको छ । महिलाहरुका हात मेहन्दी र हरिया चुराले भरिन थालेका छन् । यो महिनामा हिन्दु धर्मालम्बिहरुले शिव भगवानको पुजा आराधना गर्ने र सोमबारको व्रत बस्ने चलन छ ।
साउन महिना धान रोपेर जताततै खेतहरु हरियो हुनु बर्षाका कारण जलमग्न रहने यो महिनामा हरियो रंग विशेष मानिन्छ । विवाहित तथा अविवाहित महिलाहरुले किन हरियो चुरा र मेहन्दी लगाउछन् त ? किन यो महिनामा हरियो रंगलाई विशेष मानिन्छ त ? भगवान शिवको आराधान गर्दा किन यो महिनामा पहेंलो वस्त्रको प्रयोग गरिन्छ त ?
साउन महिना जताततै हरियाली हुनाले रमणीय हुन्छ । हरियो रंग प्रकृतिको सम्मान स्वरुप लिने गरिन्छ साथै हरियो रंगलाई प्रेमको प्रतिक पनि मानिन्छ । प्रेम र वातावरणको सम्मानको लागि प्रेम पनि प्रकृति जस्तै हराभरा होस भनेर विवाहित महिलाहरुले आफ्नो वरको दिर्घायुको कामना गर्दै उनको नाममा हरियो चुरा, पोते र मेहन्दी लगाउने गर्दछन् ।
अविवाहित महिलाहरुले राम्रो वर मिलोस भन्ने कामनाका साथ मेहन्दी र चुरा लगाउने गर्दछन् । पहेलो रंगलाई पवित्रताको प्रतिक मानिने हुँदा पहेंलो वस्त्र लगाई भगवान शिवको पुजा आराधना गर्नुको साथै सोमवारको व्रत वस्ने गर्दछन् ।
हातमा लगाउने मेहन्दीले मानसिक तनाव कम गर्छ भन्ने भनाई छ भने हरियो रंगलाई हेरेमा आँखालाई शितलता मिल्छ । हप्तामा एक पटक व्रत बस्दा पाचनप्रक्रिया राम्रो हुने भएकाले स्वास्थ्यमा पनि फाइदा पुग्ने गर्दछ ।
धार्मिक किम्वदन्ती अनुसार भगवान शिवलाई खुसी पार्न देवी पार्वतीले शिव भगवानको मनपर्ने महिना साउनमा हरियो चुरा र मेहन्दी लगाई दिर्घायुको लागि पहेंलो वस्त्र लगाएर व्रत बसेकी थिन भन्ने भनाइ छ । साथै प्रेम जोडिका रुपमा मानिने भगवान राधा-कृष्णले पनि यही महिनामा रास रचाएको भन्ने किम्वदन्ती रहेको छ ।