-ऋषि तिवारी
शनिबारको दिन । घरमा बस्ने आराम गर्ने । लेख रचना लेख्ने पढ्ने तरखर गर्दै थिएँ ।
खाना खाइसकेपछि, यसो मोबाइलमा केही रचना फुर्नु पर्यो भन्दै तयारीमा थिएँ । श्रीमती धन्दा सकेर आइन् । भनिन्, 'हजुर, आज बैनीकोतिर जाऊँ हैं ?'
मैले भनें, 'किन जाने ? कहिलेकाहीँ भूत चढ्छ क्या हो ? काम न बेकामे लखर लखर ?'
अर्को कोठाबाट छोरी आइ । भनिन्, 'बाबा आज आन्टीकोमा जाऊँन् है ?' छोरीलाई पनि भनें, 'किन जाने आन्टीकोमा?' 'नाइ बाबा जाने ।' 'ल छोरी तिमीलाई पनि भूत चढेछ ।' मलाई पनि आज भूत चढेको छ । तिमी र, मम्मीलाई घुम्ने भूत चढेको छ, मलाई पनि कथा लेख्ने भूत चढेको छ ।'
रचना फुर्न खोज्दै थिएँ । टाइपमा औलो चलबलाउँदै थियो । उनीहरु लुगा लगाएर तयारी भैसकेका थिए । म लगभग कथा पोष्टको अन्तिम अनुच्छेदमा पुगिसकेको थिएँ । श्रीमतीले मोवाइल खोस्न थाली । 'हन बैनीकोबाट फर्किए पछि लेख्नुस् न । तपाईंलाई लेख्न मैले कहिले रोकेको छु त ?' उता छोरी फेरि उफ्री । 'बाबा छिटो हिडिस्यो । भरे फर्केपछि आएर लेख्नु ।' श्रीमतीलाई त हप्काएर पनि जितेको थिएँ । छोरीलाई सकिन् ।
लाग्यौ, सालीकोतिर । घर पुग्नु परेको थिएन् । एउटा जीविका चलाउने पसल खोलेका थिए साली र, साढु भाईले । पसल चल्ती थियो । टेबल र बेञ्चमा बसें । सालीले चिया पकाएर दिइन् । 'चिया पिउँनुस् भिनाजु ।' चिया पिउँनु भन्दा अघि एक बोतल मिनरल वाटर मागे । त्यो बोतल पानी रित्ताएँ । भुँडी फुलेछ । फोटो सेल्फी खिचें ।
'लेऊ पैसा ।' मैले पैसा दिन खोजे । उनले मानिनन् । भनिन्, 'पर्दैन भिनाजु ।' मैंले उनलाई पनि भनें, 'के तिमीलाई पनि भूत चढेको छ ? यो तिम्रो पसल हो कि घर ? खुरुक्कै राख् । पाहुना घरका हुन्छन् । पसलका हुँदैनन् ।' उनले मनमनै भनिन् शायद, 'पहिले भिनाजु दुब्ला थिएँ । अहिले अलिक मोटाएछन् ।' उनको हेराईको भाव त्यही कल्पना थियो शायद । मैंले पनि उनलाई हेर्दै मनले कल्पिदै भनें, 'तिम्री दिदीले गनगन गरिनन् भने म अवश्य नै मोटाउँने थिएँ ।'
विराटनगर-६, ममता-मार्ग ।