विराटनगर । मुख्यमन्त्री शेरधन राईले किसानले उत्पादन गरेको कृषिजन्य वस्तु खेर जान नदिने दावी गरेका छन् ।
दुग्ध विकास संस्थानको ५२ औं स्थापना दिवसको अवसरमा विराटनगर दुग्ध वितरण आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारले किसानकै पक्षमा नीति लिएका कारण पाउडर प्लान्ट सुधारमा लगानी गरेको उनको भनाई थियो ।
प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्न किसानलाई प्रेरित गर्ने नीति बताउँदै मुख्यमन्त्री राईले निर्धक्क कृषि उत्पादनका क्षेत्रमा क्रियाशिल हुन आग्रह समेत गरेका छन् ।
प्रदेश १ सँग दुध उत्पादन र निर्यातका लागि संभावना बोकेको प्रदेशमा पर्ने बताउँदै किसानहरुलाई उत्पादनमा प्रोत्साहन गरिने उनको भनाई थियो । उत्पादन र बजारीकरणका लागि ठोस योजना ल्याउन आाग्रह गर्दै सरकारले परियोजनाका आधारमा सहयोग गर्ने दावी थियो ।
दुग्ध विकास संस्थान समृद्ध नेपाल सुखि नेपालीको आकाङ्क्षा पूरा गर्ने एउटा आधार भएको बताउँदै प्रदेशमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने योजना राखिएको धारणा मुख्यमन्त्रीको थियो ।
विराटनगर आयोजनामा निर्माण गरीएको डिजल बोइलर प्लान्टको उद्घाटन पनि बिहीबार मुख्यमन्त्री राई गरेका छन् । प्रदेश सरकारको सहयोगमा १ करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना भएको प्लान्ट बनेपछि भुस ब्रोइलरका कारण समस्या भइरहेका स्थानीय जनताले पनि राहत पाउने भएका छन् ।
विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट पूर्णरुपमा सञ्चालन हुँदा लकडाउनको अवधिमा कैलाली जिल्लादेखिको दूध विराटनगरमा ल्याएर प्रशोधन गरिएको थियो । तीन महिनासम्म लकडाउन हुँदा पनि किसानहरुले मिल्क होली डेको अवस्था व्यहोर्नु नपरेको आयोजनाका प्रमुख गणेशप्रसाद यादवले जानकारी दिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सरकारले उत्पादन र बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । दुग्ध विकास संस्थानको विराटनगर वितरण आयोजनाले बजार विस्तारमा जोड दिनु पर्ने भन्दै प्रदेश राजधानीमा नै डीडीसीको उत्पादन सहजरुपमा नपाउने अवस्था अन्त्य गर्न मन्त्री मगरले निर्देशन दिएका छन् ।
उत्पादन विविधीकरण हुँदा पनि बजारमा नपुग्ने र प्रतिष्पर्धामा पछिपर्ने अवस्था अन्त्य हुनुपर्नेमा उनको जोड थियो । एक वर्ष भित्र बजारीकरणमा सुधार गरी विराटनगरमा तीन गुणा बजार विस्तार हुनुपर्ने धारणा मन्त्री मगरेको थियो ।
विराटनगर आयोजनाका प्रमुख यादवले कोरोनाका कारण सम्पूर्ण क्षेत्र बन्द हुँदा संस्थानमा दुध संकलन तीनगुणा बढेको र अहिले पनि दैनिक ४० हजार लिटर दूध संकलन भइरहेको जानकारी दिएका छन् । दूधको संकलन बढेपनि बजारमा खपत नबढेको र उत्पादित मखन, पाउडर र होलमिल्कको मौज्दात बढेको उनको भनाई थियो ।
गाउँमा किसानहरु उत्पादन बढाउन तत्पर देखिए पनि चिस्यान केन्द्रहरु निर्माण गर्न नसक्दा किसानहरु निराश हुने अवस्था आएको भन्दै प्रदेश सरकारलाई चिस्यान केन्द्रका संरचना बनाउन सहयोग गरिदिन आग्रह गरेका थिए । इलामको तीनघरे, शान्तिनगर, लक्ष्मीपुर लगायतका ठाउँमा किसानहरले जग्गा दान दिएर चिस्यान केन्द्र बनाउन दवाव दिइरहेको प्रमुख यादवको दावी छ ।
यसैबीच दुग्ध वितरण आयोजना विराटनगरमा एक लाख किलो मखन, ९७ हजार किलो पाउडर दुध र सोही परिमाणमा होलमिल्क मौज्दात रहेको छ । जसले संस्थानको ठूलो चालु पूँजी स्थिर रहेको छ ।