विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म हिडडुलमा निषेध गरेकै दिन शनिबार बिहान भारततर्फ तस्करी हुँदै गरेको १४ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।
मोरङको जहादा गाँउपालिका ३ हात्तिवन भन्ने स्थानबाट बुधनगर प्रहरीले शनिबार बिहानको समयमा मोटरसाईकलमा गाँजा लैजादै गर्दा बरामद गरेको हो ।
तस्करहरुको समुहले २ वटा मोटरसाईलमा ७–७ केजी गाँजा राखेर भारततर्फ लैजादै गर्दा फेला पारेको मोरङको प्रहरी प्रमुख एसपी सन्तोस खड्काले जानकारी दिनुभयो । प्रहरीले शंका लागी मोटरसाइकलवालालाई चेकजाँच गर्ने क्रममा २ वटै मोटरसाईकल छाडेर फरार भएको एसपी खड्काले दावी गर्नुभयो ।
तस्कारको समुहले भारतीय नम्बरको विआर ३८ आर ९४४० र नेपाली नम्बर प्लेट भएको को १८ प २६१९ नम्बरको मोटरसाईकलमा गाँजा लैजादै गर्दा प्रहरीसँग भेट भएको थियो । तस्करको समुहले प्रहरी देख्नसाथ मोटरसाईकल छोडेर भारततर्फ भागेकोले समात्ने प्रयास विफल भएको थियो । गाँजा बरामद भएको स्थानबाट नियन्त्रण लिएको मोटरसाईकलको आधारमा गाँजा कसको हो भन्ने अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।