विराटनगर । विराटनगरस्थित होटल एशियाटीकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित नागरिकको उपचारका लागि आईसोलेशन सञ्चालनमा आएको छ ।
शनिबार साँझदेखि होटलमा आईसोलेशन सञ्चालन आएसँगै ७ जना संक्रमित समेत भर्ना गरिएका छन् । नेपाल विद्युत प्राधिकरणका ६ जना र वाणिज्य बैंकका एकजना कर्मचारी शनिबार साँझ नै होटल एशियाटीकको आईसोलेशनमा भर्ना भएका हुन् ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय समेतको सुझाव र सहकार्यमा आईसोलेशनका लागि होटल प्रयोग गर्न दिइएको सञ्चालक पुण्य भट्टराईले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयले होटललाई आईसोलेशन निर्माण गर्नका लागि जारि गरेको सूचनामा ईच्छुक रहेको भन्दै एशियाटीकले आवेदन दिएको थियो । लक्षणविहीन संक्रमितलाई राख्नका लागि होटलमा आईसोलेशन अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय अनुसार आइतबार सामाजिक विकास मन्त्रालयसँग औपचारिक रुपमा सम्झौता गर्ने तयारी समेत रहेको बुझिएको छ । तर, विद्युत प्राधिकरणले यस अगाडी नै कोठा बुक गरिसकेकोले त्यहाँका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि शनिबार साँझ नै लागि महानगर र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको उपस्थितिमा प्रयोगमा ल्याइएको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले विराटनगरको होटल एशियाटीकका सञ्चालकले आईसोलेशन सञ्चालनका लागि संरचना सरकारलाई उपलब्ध गराउने भन्दै आवेदन दिएपछि सम्झौता गरेर अगाडी बढ्ने शनिबार बताउनु भएको थियो ।
नेपाल आयल निगम र नेपाल बिद्युत प्राधिकरणले समेत होटल एशियाटीकमा आफ्ना कर्मचारी संक्रमित भएको अवस्थामा राख्न बुक गरिसकेका थिए । त्यसैका आधारमा बिद्युतका ७ कर्मचारीमध्ये ६ जना शनिबार साँझ नै होटल एशियाटीकको आईसोलेशनमा बसेका हुन् ।
एशियाटीकमा बसेका संक्रमितलाई स्वास्थ्य परामर्शका लागि महानगरले स्वाथ्यकर्मी परिचालन गर्ने भएको छ । एम्बुलेन्स चाहिएको अवस्थामा महानगरले तत्काल उपलब्ध गराउने र संक्रमितलाई अस्पताल भर्ना प्रक्रियामा लैजाने प्रतिवद्धता महानगरका मेयर भीम पराजुलीले होटल सञ्चालक भट्टराईसँग जनाउनु भएपछि शनिबार साँझ नै कर्मचारी राखिएको हो ।
नेपाल आयल निगमले ५ वटा कोठा बुक गरेको छ । नेपाल बिद्युत प्राधिकरणले समेत होटल एशियाटीकमा ७ वटा कोठा बुक गरेको थियो । कर्मचारी संक्रमित भएको अवस्थामा राख्नका लागि केन्द्रीय कार्यालयका निर्देशन अनुसार नै होटलका कोठा बुक गरिएको नेपाल आयल निगम विराटनगरका प्रमुख नकुल भण्डारीले बताउनुभयो ।
प्रदेश सरकारले गत साउन २६ गते होटललाई आईसोलेशन बनाउने निर्णय गरेअनुसार सामाजिक विकास मन्त्रालयले सातदिनको म्याद राखेर ईच्छुक होटलका सञ्चालकलाई आवेदन दिनका लागि सुचना जारि गरेको थियो । सुचनामा अन्य होटलहरुले ईच्छा नदेखाएपनि पर्यटकीयस्तरको होटल एशियाटीकले आवेदन दिएकोले सम्झौता गरेर आईसोलेशन सञ्चालनमा ल्याउने सचिव कार्कीले बताउनु भएको छ ।
होटलका सञ्चालक भट्टराईले ६५ बेड क्षमताको होटल सरकारलाई आईसोलेशनका लागि प्रयोगमा दिने बताउनुभयो । उहाँले पर्यटकीय सुविधास्तरका कोठा भएको होटलको कन्फरेन्स हलमा आईसीयूसहितको सुविधा सम्पन्न वार्ड समेत सञ्चालन गर्न सकिन्छ । होटलका दुईवटा कन्फरेन्स हल समेत रहेकोले आवश्यक पर्दा अस्थायी शैया राखेर सरकारले प्रयोगमा ल्याउन सक्ने भट्टराईले बताउनुभयो ।