विराटनगर । प्रहरीको अत्याधिक खोजी (मोस्ट वान्टेड) सूचीमा रहेका हातहतियार र लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रदिप (बग्गा) यादवलाई मोरङ प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिन सफल भएको छ ।
भारतमा बसेर नेपालको प्रदेश १ र २ का जिल्लामा अवैध हातहतियार तथा लागुऔषधको कारोबार गर्दै आएका मुख्य नाईके यादवलाई विराटनगर–१६ दरैयाबाट शनिबार अपरान्ह पक्राउ गरिएको हो ।
भारत बिहार अन्तर्गत अररिया जिल्ला इन्द्रनगर ग्राम पञ्चायत–१० टिकुलियाका ३९ वर्षीय यादवले अवैध कारोबार सञ्जाल बिस्तार गरी नेपालमा हातहतियार तथा लागूऔषध पठाउँदै आएका थिए ।
उनलाई प्रहरीले अत्याधिक खोजी सूचिमा राखेको थियो । शनिबार विराटनगरमा पक्राउ गर्दासमेत डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्कीलागूऔषध साथमै फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।
अपराधको श्रृंखला र घटनाको कनेक्सन
भारतीय नागरिक प्रदिप यादव ‘बग्गा’ले २०७५ सालदेखि नेपालमा हातहतियार र लागुऔषधको कारोबार गरेको तथ्य मोरङ प्रहरीले अनुसन्धानका क्रममा भेटेको छ । उनले भारतबाट हतियार तथा लागुऔषध लिएर पठाएका भारतीय तथा नेपाली नागरिकहरुलाई सबुतप्रमाणसहित पक्राउ गरेपछि प्रहरीले लिइएको बयानमा अधिकांश प्रतिवादीले बग्गासँगै लागुऔषध र हातहतियार खरिद गरेको उल्लेख गराउँदै आएका थिए ।
प्रहरीले २०७५ साल मंसिर ३ गते उदयपुरको उदयपुरगढी गाँउपालिका निवासी मन्दिप तामाङ र इटहरी–१२ खनारका शुशिल साहुलाई अमेरिकी अटोमेटिक पेस्तोल र चारथान गोलीसहित पक्राउ गरेको थियो । त्यो हतियार तामाङमार्फत भारतीय नागरिक यादवले सुनसरीका साहुलाई दिनका लागि पठाएका थिए । हतियार लिएर आउने र हतियार बुझ्ने तामाङ र साहुलाई विराटनगर–१६ हुलास मेटल चौकबाट प्रहरीले पक्राउ गरेको थियो ।
त्यसको तीनदिनपछि प्रहरीले विराटनगर–१६ का विद्यानन्द मण्डल र अनुप गिरीलाई ३८० एम्पुल लागुऔषध, १०५ ग्राम ब्राउन सुगरसहित शरीरमा टेपले बाँधेरको अवस्थामा कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित तीनजनालाई पक्राउ गरेको थियो । मण्डल र गिरीले धरान घर भई ललितपुर ४ एकान्तकुनामा डेरा गरी बस्ने रुपम राईलाई विराटनगर बसपार्कमा दिन लाग्दा तीनैजना पक्राउ गरेका थिए ।
प्रहरीले अवैध हातहतियार र लागुऔषध कारोबारमा संलग्नहरुलाई नियन्त्रणमा लिएर तत्काल गरेको अनुसन्धानमा भारतीय नागरिक बग्गाले नेपालमा सञ्जाल विस्तार गरेको खुलेको थियो । त्यसैका आधारमा उनलाई समेत प्रतिवादीको सूचिमा राखेर खोजि गरिरहेको थियो ।