विराटनगर । विराटनगर–१ पोखरिया निवासी २३ वर्षीया युवती पेशाले स्टाफ नर्स हुन् । नोबेल मेडिकल कलेजमा तीनवर्ष अध्ययन सकाएर बाँकी तीनवर्ष नर्सिङ पेशा अंगालेकी उनमा चारदिन अगाडी कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भयो । त्यसपछि उनी आफ्नै घरमा ‘आईसोलेशन’ जीवन बिताईरहेकी छिन् ।
कोरोना पोजेटिभ पुष्टि हुनु भन्दा केहिदिन अगाडी मात्रै नोबेलबाट राजीनामा दिएकी उनमा संक्रमण त्यहिंबाट सरेको प्रवल संभावना छ । सँगसँगै काम गर्ने चिकित्सक तथा नर्सहरुमा संक्रमण भएपछि उनले पनि पीसीआर परीक्षण गराएकी हुन् । नोबेलमा हालसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा स्टाफ नर्सको संख्या धेरै छ ।
लामो समय काम गरेर राजीनामा दिएको चारदिनपछि कोरोना संक्रमित भएँ तर नोबेल मेडिकल कलेज प्रशासन मेरा लागि उदार बन्न सकेन, उनले भनिन्–अस्पतालको आईसोलेशनमा एउटा शैया मेरा लागि उपलब्ध भएन ।
शरीरमा लक्षण नदेखिएपनि संक्रमित बनेपछि घरमा बस्नका लागि उनले अनिच्छा व्यक्त गरेकी थिइन् । आफ्नै घरका अन्य सदस्यमा संक्रमण नसरोस् र घर भित्रको वातावरण समेत सहज नभएका कारण उनले यस्तो ईच्छा राखेकी थिइन् । नोबेल मेडिकल कलेज प्रशासनसँग हजारौं बिन्ति बिसाउँदा समेत बस्न नदिदाँ पीडित बन्नु परेको उनले गुनासो गरिन् ।
नोबेल प्रशासनले अस्पताल भित्रका कर्मचारी, चिकित्सक तथा स्टाफ नर्स संक्रमित भएको अवस्थामा ५६ शैयाको आईसोलेशन वार्ड तयार गरेको छ । त्यसमध्ये ३५ शैया खाली हुँदा समेत स्वास्थ्यकर्मीकै आग्रहलाई अस्वीकार गरिएको हो । हुन त म लक्षणबिहीन छु तर मेरो घरको बाध्यताले गर्दा मैले नोबेलमा आईसोलेशन बस्न चाहेको हुँ, उनले भनिन्–मेरो कुरा त्यहाँ नबुझ्दा दुःख लागेको छ । उनले प्रशासनका सबैसँग आग्रह गरेको र त्यति मात्रै नभएर अध्यक्ष शर्मालाई समेत फोन गरेको दावी गरिन् ।
कोरोना संक्रमित र संक्रमितको उपचारका लागि खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई सर्वसाधारणले दुव्र्यवहार गरेका घटना सार्वजानिक भईरहेका छन् । यस्ता घटना सर्वसाधारण नागरिकको तहबाट भएको अवस्थामा सचेततापूर्वक सर्वत्र विरोध गर्दै चिकित्सक र स्वास्थ्यकर्मीको पक्षका आवाज बुलन्द हुने गरेका छन् । मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमै तीनवर्षसम्म कार्यरत रहि चारदिन अगाडी मात्रै राजीनामा गरेकी स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनबाटै गरिएको अस्वीकारको घटना समाजका लागि सन्देशमूलक भने हुन सकेको देखिदैन ।
अस्पतालका निर्देशक डा.राजेश नेपालले सरकारको मापदण्ड अनुसार नै उनी घरमा बस्नुपर्ने बताउनुभयो । लक्षण नदेखिएका नोबेलकै संक्रमितमध्ये नौजना कर्मचारीहरु समेत होम आईसोलेशनमा रहेको निर्देशक नेपालले जानकारी दिनुभयो । यो घटनालाई किन ‘इस्यू बनाईदैछ, निर्देशक नेपालले भन्नुभयो–सरकारको संक्रमित उपचार निर्देशिका अनुसार नै लक्षणबिहीन संक्रमित घरमा बस्नुपर्छ ।
नोबेल मेडिकल कलेजले पीसीआर मेशिन खरिद गरेर जडान गर्ने तयारी गरिरहेको छ । केहिदिनमै परीक्षण प्रारम्भ गर्ने नोबेल मेडिकल कलेजले अहिलेसम्म सर्वसाधारण नागरिक संक्रमित भएको अवस्थामा राख्ने छुट्टै आईसोलेशन वार्डको निर्माण समेत गरेको छैन । उहाँका अनुसार अस्पतालमै कार्यरत र लक्षणसहितका संक्रमित मात्रै राख्ने स्पष्ट नीति अस्पताल प्रशासनले लिइएको छ । नोबेलले आम नागरिकका लागि आईसोलेशन बनाउने प्रक्रियासमेत बढाएको छैन । निर्देशक नेपालका अनुसार सरकारले निर्देशन पनि त्यस्तो छैन ।