विराटनगर । नेपाल प्रहरीको प्रदेश नम्बर १ अन्तर्गत कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट प्रभावित हुनेको संख्या २११ जना पुगेको छ । मंगलबार थप १७ जना संक्रमित थपिएसँगै प्रहरी भित्र कोरोना संक्रमणको असर निक्कै देखिदैं गएको हो ।
मंगलबार प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगर तालिम केन्द्रमा कार्यरत १० जना, धनकुटा, ओखलढुंगा र मोरङमा २–२ जना तथा झापामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ४६ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । १६६ जना प्रहरी अझै सक्रिय संक्रमितको रुपमा उपचाररतः रहेका छन् ।
नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ८७ जनामा संक्रमण देखिएसकिएको छ । त्यस बाहेक प्रदेश १ प्रहरी कार्यालयमा ४०, तालिम केन्द्रमा १२, मोरङमा १३, सुनसरीमा १३, झापामा १२, दंगा नियन्त्रण प्रहरी गण दुहबीमा १२, खोटाङमा छ, धनकुटामा ४, ओखलढुंगा, भोजपुर र इलाममा ३–३, पाँचथर, संखुवासभा र उदयपुरमा १–१ जना प्रहरीमा कोरोना देखिएको छ ।
यसैगरी प्रदेश सभा सचिवालयका मर्यादापालक एक प्रहरीमा पनि कोरोना पुष्टि भएको छ । मर्यादापालकलाई मोरङको संक्रमितमा गणना गरिएको छ । धनकुटामा कार्यरत दुई प्रहरीमा पहिलो पटक जेठ ५ गते कोरोना देखिएको थियो । साउन ७ गते प्रदेश कार्यालयमै एक सिनियर अधिकृतमा कोरोना पुष्टि भयो । त्यसपछि प्रहरीभित्र संक्रमण व्यापक रुपमा बढीरहेको छ ।
बढी प्रभावित बनेको रानीस्थित गणमा साउन २१ गते एक महिला प्रहरी जवानमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । भर्खरै प्रहरीमा भर्ना भएकी उनको गण पहिलो पोस्टिङ् थियो । महिला प्रहरीमा कोरोना देखिएपछि कार्यालय सिल गरेर त्यहाँ रहेका प्रहरीलाई ’क्वारेन्टाइन’ राखिएपनि होसियारी नअपआउँदा संक्रमण फैलिएको स्रोतले बताएको छ ।
गणमा कोरोना देखिएको पर्सिपल्ट साउन २३ गते ठूलो संख्यामा प्रहरी फेरबदल गरिएको थियो । साउन २३ मा गणबाट लगेर खोटाङमा ‘क्वारेन्टाइन’मा राखिएका छ जना प्रहरीमा साउन ३१ गते कोरोना देखिएको थियो । ओखलढुंगामा पनि गणबाटै लगिएका एक प्रहरीमा भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।
झापाका ८, सुनसरीको दुहवीस्थित गणका ६, खोटाङका ६, ओखलढुंगाका ३, संखुवासभा र मोरङका १–१ जनामा पछिल्लो समय संक्रमण पुष्टि भएको छ । उनीहरु विराटनगरस्थित सशस्त्र गणबाटै लगिएका प्रहरी हुन् ।
असार यता हालसम्म प्रदेश १ मा दुई हजार ४४ प्रहरीलाई स्थानान्तरण गरेर एउटा कार्यालयबाट अर्कोमा पु¥याइएको छ । स्थानान्तरणका क्रममा पनि संक्रमणबाट बच्न अपनाउनु पर्ने कुनै पनि सुरक्षात्मक उपाय नअपनाइएकोले समस्या भएको दावी गरिदैं आएको छ ।