प्रेम देवान
विराटनगर । विराटनगरका ठूला अस्पतालका ओपीडी सेवा तथा साना क्लिनिकहरु अधिकांश बन्द छन् यतिबेला । कोरोना कहरका कारण अस्पतालहरुले तत्कालका लागी ओपीडी सेवा बन्द गरेका छन् भने निजी क्लिनिकहरु पनि लकडाउनका कारण प्रायः बन्द रहेका हुन् ।
विश्वमा प्रविधिको विकाससँगै अहिले नयाँ–नयाँ प्रविधिको खोज अनुसन्धान भईरहेको छ । हो, यसैलाई मध्यनगर गर्दै ईन्टरनेटको माध्यम र मोवाईलको नयाँ एप्सबाट अब घरबाटै आफुले चाहेको चिकित्सकसँग परामर्श लिन सकिने भएको छ । यसका लागी विराटनगर ३ जना जागरुक युवाहरुद्धारा ‘द नेक्स्ट जेनेरेशन’ सँगको सहकार्यमा ‘क्युरा हेल्थ’ मोबाईल एप्लिकेसन ल्याएका छन् । मोबाईलको माध्यमबाट नै आफुले चाहेको चिकित्सकहरुबाट परामर्श तथा उपचारको लागी समय निर्धारण गरेर अस्पताल सम्म पुगेर उपचार गराउन सक्नेछन् ।
विराटनगरका २१ वर्षिय आयुष भगत, २३ बर्षका रजत अग्रवाल र ३२ बर्षकी जयश्री जाजुको समुहले उक्त एप्स संचलनमा ल्याउन लागेका हुन् । उनीहरु मध्ये दुई आइटी, स्वास्थ्यका विद्यार्थीहरु र एक महिला उद्यमी हुन् ।
अबको केहीदिन भित्रै उक्त एप्स सार्वजनिक गर्ने तयारीमा रहेको समुहका सदस्य मध्येका एक आयुष भगतले आवर विराटनगरलाई जानकारी दिए । पहिलो सुरुवातमा विराटनगरबाट सुरु गरेर मुलुकभरका अस्पतालसँग सहकार्य गरी यो कार्यलाई अगाडी बढाउने भगतले बताए ।
‘अहिले हामीले विराटनगरका ठूला अस्पताल र निजि कृलनिकहरुसँग सहकार्यको लागी काम भईरहेका छ, ‘अबको केहीदिनभित्र हामी मोवाईल एप्सको सार्वजनिक गर्दैछौँ ।’ विराटनगरमा अहिले लकडाउनसँगै कोरोना भाईरस कोभिड १९ को उच्च जोखिमबाट बच्नको लागी यो कार्यले नागरिकलाई ठूलो सहयोग पुग्ने क्युरा हेल्थको आशा छ ।
विरामी तथा सेवा ग्राहीले आफ्नो मोबाइल फोनमा यो एप्लिकेसन डाउनलोड गरेपछि यसको माध्यमबाट प्रयोगकर्ताले आफुले चाहेको अस्पतालमा वा सम्बन्धित विशेषज्ञ चिकित्सकसंग आफ्नो नाम समेत दर्ता गराउन सक्नेछन् ।
सेवाग्राहीले अन्य समयजस्तो झन्झटिलोबाट समेत मुत्त हुनेछन् । घरबाटै टेलिमेडिसिन फिचरबाट सम्बन्धित चिकित्सकहरुको समय बुकिङ्ग गरि सोहि समयमा अडियो वा भिडियोकल मार्फत पनि परामर्श लिन सकिनेछ । क्युरा हेल्थका २ वटा मोबाइल एप्लिकेसन रहेको एप उत्पादन तथा निर्माणकर्ता रहेको छ । अनलाईन माध्यमबाट नै पैसा तिर्न पनि सक्ने छन् वा प्रत्यक्ष अस्पताल सम्म नै पुगेर पनि उपचार तथा स्वास्थ्य परीक्षण गरेको फि तिर्न सक्ने क्युरा हेल्थले जनाएको छ । यो सेवा संचालनमा आएसँगै भोलीको दिनमा नागरिकलाई राम्रो माध्यम बन्ने छ ।