विराटनगर । हातहतियारसहितको संगठित अपराधिक समूह बनाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिइएको छ ।
पीडितको गुनासोका आधारमा प्रहरीले सुरु गरेको अनुसन्धानमा विराटनगर र कटहरीका पाँचजनालाई हतियारसहित नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा पर्नेमा एकजना भारतीय नागरिक र चारजना नेपाली छन् । प्रहरीले भदौ १६ गते कटहरी–२ आदर्शनगरका एलेक्स भन्ने रविन शर्मालाई घरैबाट एकथान पेस्तोलसहित पक्राउ गरेपछि उनैको बयानका आधारमा थप चारजनालाई नियन्त्रणमा लिइएको हो ।
त्यस क्रममा प्रहरीले भारत सितामणी घर भई विराटनगर जलजला मोडको चाइना बजारमा कामदारको रुपमा रहेका २७ वर्षीय राजु साह, कटहरी २ का किसन साह, अभिषेक राय, सप्तरी बोदेबर्साइनका नन्दु भनिने नन्दकिशोर साहलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरुमध्ये भारतीय नागरिक राजुलाई रेम्बो गल्लीबाट, किसनलाई देवकोटा चौक, अभिषेकलाई विराटनगर ३ मा बस्दै आएका नन्दकिशोरको कोठाबाट नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।
उनीहरुको समूहले संगठित रुपमा व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाउँदै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । पक्राउ परेका पाँचैजनालाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरिएको छ ।
विराटनगरमा चोरी तथा लुटपाटमा समेत यो समूह संलग्न रहेको प्रहरी उपरीक्षक खड्काको दावी छ । पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पीडितको गुनासोपछि यो समूहको विषयमा प्राप्त भएको गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट टोलि परिचालन गरि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनीहरुको साथबाट ९७ हजार १२० रुपैँया बरामद गरेको छ । जसमध्ये नन्दकिशोरको विराटनगर–३ डेराबाट भारतीय रुपैँया ४९ हजार ४५० र नेपाली रुपैँया नौ हजार बरामद गरेको छ । यसैगरी अटोमेटिक पेस्तोलसहित तीन थान गोलि, विभिन्न कम्पनिका १६ थान मोवायल, भारतीय बैंकको चेक, तीनथान मोटरसाइकल र चक्कु बरामद गरेको छ । प्रहरीले उनीहरुको को ३२ प ७५२५ नम्बरको यमाहा, को १५ प २३१५ नम्बरको पल्सल र को ३६ प २७२० नम्बरको ड्युक अहिलेसम्म ५० वटा घटनामा संलग्न रहेको दावी गरेको छ ।
उनीहरुले २०७७ असार २५ गते ९८४०४१८२३० नम्बरबाट विराटनगरका एक व्यापारीको मोवायलमा म्यासेज गरी १० लाख माग गरेर बार्गेनिङपछि पाँचलाख रुपैँया लिएको खुलेको छ । यसैगरी २०७७ साउन १३ गते ९८४०४१८२३० नम्बरबाट अर्का व्यापारीलाई फोन सम्पर्क गरी विभिन्न किसिमका धम्की दिदैं दश लाख रुपैँया माग गरेका थिए । २०७७ भदौ १५ गते चाईना बजारका संञ्चालक राम नरेश साहको घर फोरी नगद ११ लाख रुपैँया चोरि गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरु विरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराधमा अनुसन्धान कारवाही अगाडी बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो।