रंगेली । रंगेलीमा नौ दिनपछि शुक्रबार पुनः तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । साताअघिबाट कोरोना रोकथाम भएको रंगेलीमा शुक्रबार थुनुवासहित तीन जनामा संक्रमण देखिएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका एक थुनुवासहित तीन जनालाई कोरोना संक्रमण देखिएको छ । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति बालाजि मन्दिर क्वारेन्टिनमा बसेका ९ जनासहित २५ जनाको स्वाब संकलन गरि परीक्षण गर्दा ३ जनामा कोरोना देखिएको रंगेली स्वास्थ्य शाखाका भुपेन्द्र मण्डलले जानकारी दिनुभयो ।
कोरोना पुष्टी हुनेमा रंगेली नगरपालिकाको दुई जना कर्मचारीसहित इलाका प्रहरी कार्यालय रंगेलीको लागुऔषध मुद्दाका एक जना थुनुवा रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका थुनुवा लागूऔषध ल्याउने क्रममा ६ दिन अगाडि पक्राउ परेको इप्रका रंगेलीका प्रमुख प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।
सुनवर्षी नगरपालिका ८ का घर भएका २१ वर्षीय ती युवासहित ५ जना थुनुवाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा एक जनामा संक्रमण देखिएको हो । एक जना थुनुवामा संक्रमण देखिएपछि उनको सम्पर्कमा गएका प्रहरीको पनि कन्टयाक टे«सिङ गरि परीक्षण गर्ने तयारी गरिएको छ ।
संक्रमण देखिएको थुनुवालाई गोठगाउँस्थित आइसोलेशनमा पठाएको प्रहरीले जनाएको छ । कोरोना देखिएका २ जना कर्मचारीलाई भने रंगेली जनता क्याम्पसकै आइसोलेशनमा राखिएको छ ।
रंगेलीमा साउन १९ गते पहिलो पटक एकै परिवारका १४ जना सहित २२ जनामा कोरोना देखिएको थियो । संक्रमण बढेपछि रंगेली नगरपालिकाले रंगेली बजार क्षेत्र तीन साता शिल गरेर कन्ट्रयाक ट्रेसिङ्ग गर्दा १ सय ९ जनामा कोरोना देखिएएपछि सय बेडको आइसोलेसन तयार गरेर कोरोना नियन्त्रणमा सफल भएको थियो ।
रंगेलीमा पुनः संक्रमित देखिएपछि कन्ट्याक टे«सिङ गरि परीक्षण तत्काल गरेर संक्रमण नियन्त्रणमा अगाडि बढने तयारी थालिएको छ ।