खानेपानी आयोजनामा अवरोध

<span class='c1'>खानेपानी आयोजनामा</span> <span class='c2'>अवरोध</span>

खोटाङ्ग जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र वडा नम्बर–६ नेर्पास्थित काहुले मुहानको पानी सञ्चालनमा आफूहरुको मागलाई बेवास्ता गर्दै खानेपानी निर्माण उपभोक्ता समितिले जबरजस्त लैजान खोजेको भन्दै स्थानीय बासिन्दाले अवरोध गरेका हुन् ।

खानेपानी आयोजनामा पानीको मुहान उपभोग गरिरहेका सोल्मा र नेर्पाका स्थानीय बासिन्दाले आफूहरुका माग पूरा नगरेसम्म कुनै पनि हालतमा पानी लैजान नदिने शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । खानेपानी निर्माण उपभोक्ता समितिले स्थानीय बासिन्दासँग गरेको १२ बुँदे सम्झौता विपरीत छेपेखोला र काहुले मुहानको पानी लाने तयारी गरेकाले अवरोध गरिएको छेपेखोला काहुले मुहान सङ्घर्ष समितिका संयोजक हर्कबहादुर पराजुलीले बताउनुभयो । सोल्माको रम्बाखोला र माझखोलाबाट पानी दिने सहमति भए पनि मुहानै थुन्नुका साथै छेपेखोला र काहुले मुहानबाट जबरजस्ती पानी लाने तयारी गरेकाले अवरोध गरिएको खानेपानी समन्वय समितिका संयोजक धनीराम राईले बताउनुभयो । “खानेपानीको मुहानमा बाँध नबाँधी ७५ मिलिलिटरको पाइप राखेर पानी लाने आपसी सहमति भएको थियो”, उहाँले भन्नुभयो, “अहिले माझखोलामा बाँध बाँधेर पानी लगेकाले स्थानीय बासिन्दालाई पानी अभाव हुने र खेतीयोग्य जमीन प्रभावित हुने देखिएको छ ।”

सम्झौतामा उल्लेख भएअनुसार सोल्मामा पनि उक्त खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने, विभिन्न ठाउँमा रिचार्ज पोखरी निर्माण गर्नुपर्ने, शहरी खानेपानी आयोजना उपभोक्ता समितिमा सोल्माका स्थानीय बासिन्दालाई पनि समेट्नुपर्ने र सोल्मालाई विशेष क्षेत्र बनाइ त्यसैअनुसार योजना सञ्चालन गर्नुपर्नेलगायत सहमति गरिएको छ ।

निर्माणाधीन उक्त आयोजनाअन्तर्गत दिक्तेल बजार, आचार्य गाउँ र बाम्राङका एक हजार ४९ घरधूरीलाई पानी उपलब्ध गराउने योजना थियो । करिब २२ करोड ५६ लाख लागतमा १८ महिनाभित्र गत चैतमा शिलान्यास गरिएको थियो । एसियाली विकास बैङ्क (एडिबी) को ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी हुने उक्त आयोजनाको काम अहिलेसम्म करिब ६५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले जानकारी दिनुभएको छ ।

शहरी खानेपानी आयोजनामा देखिएको समस्या केही दिनभित्रै टुङ्गो लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर शुरु गरिएको खानेपानी आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “गुनासोलाई केही दिनभित्रै सम्बोधन गरेर उक्त खानेपानी आयोजनाको काम सम्पन्न गरिनेछ ।” दिक्तेल बजारमा पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्