झापा । झापाका तिन छुट्टा–छुट्टै स्थानबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका–१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१३ ईलाम रोडबाट शनिवार दिउँसो ३ बजे पक्राउ गरेको हो ।
मे. ४ प. ७७२६ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागुऔषध बरामद भएको थियो ।
यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१ का २१ बर्षीय संदिप धिमाल, २३ बर्षीय आकाश राई र अर्जुनधारा नगरपालिका–७ का १९ बर्षीय आषिश राईलाई १४ ग्राम लागुऔषध ब्राउनसुगरसहित अदुवा पुल छेउबाट शनिवार दिउँसो ४ बजे पक्राउ गरेको छ । पुल छेउमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा उक्त स्थानमा पुगेको प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४ केजी ५८ ग्राम गाँजासहित माङसेबुङ गाऊँपालिका–६ ईलाम घर भई दमक नगरपालिका–१ बस्ने २६ बर्षीय अर्पण राईलाई पक्राउ गरेको छ । आफ्नै कोठाबाट लागुऔषध गाँजाको कारोबार गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियामानुसार राईको कोठा खानतलासी गर्दा उक्त परिणामको लागुऔषध गाँजा बरामद गरेको थियो ।
पक्राउ परेका सबै जना उपर कानूनी कारवाही तथा अन्य थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।