विराटनगर । कोरोना भाईरस संक्रमित भई ‘होम आईसोलेशन’मा बसेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘पोषण झोला’ उपलब्ध गराउने अभियान सुरु गरिएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी महानगर समितिले संक्रमण पुष्टि भई घरमै बसेका नागरिकलाई भेट्ने र कोशेलीको रुपमा पोषण झोला उपलब्ध गराउनेदेखि बजारमा मास्क नलगाई हिड्ने नागरिकलाई मास्क उपलब्ध गराउने अभियान सुरु गरेको हो ।
महानगरका ६७९ जना नागरिक होम आईसोलेशनमा रहेका छन् । उनीहरुलाई सहानुभूति दिनका लागि नेकपा महानगर समितिको सचिवालयसहितको टोलि घर–घरमा पुगेर पोषण झोला प्रदान गर्ने अभियान सुरु गरिएको छ ।
आइतबार महानगरका ६० घरमा नेकपा महानगर समितिको टोलिले पुगेर संक्रमितलाई भेट्ने र पोषण झोला उपलब्ध गराउने काम गरेको महानगर अध्यक्ष सागर थापाले जाानकारी दिनुभयो । संक्रमितलाई भेट्न जाँदा अमृत चिया एक प्याकेट, आधा केजी चेवनप्रास, ढेड केजी क्वाँटी (दालजन्य गेडागुडी) र २ डल्ला साबुनको पोको लिएर पुग्ने गरिएको हो ।
संक्रमण पुष्टि भएर घरमा बस्नु भएकाहरुलाई भेट्ने माध्यमको रुपमा केहि खानेकुरा बोकेर जाने गरिएको छ, महानगरका सचिव हेम कार्कीले भन्नुभयो–चाँडै कोरोनामुक्त हुनका लागि आवश्यक पर्ने सामाग्री बोकेर जाँदा उहाँहरु पनि खुशी हुनुहुन्छ ।
छिमेकीसँगै छिमेकी नै डराई रहेको बेला राजनीतिक पार्टीका नेताहरुको टोलि संक्रमितको घरमा पुग्दा धेरैका आँखा रसाउने गरेका छन् । कोशेलीको रुपमा पोषणयुक्त झोला परिवारका सदस्य वा घरको ढोका राखिदिने र संक्रमित भएर घर भित्रै बस्नुहुने व्यक्तिसँग ढाटैबाट खुलेर खुशी साट्ने गरिएको हो ।
आइतबार साँझदेखि विराटनगरमा मास्क नलगाई बजारमा भेटिएका नागरिक लक्षित मास्क सचेतना अभियान समेत सुरु गरिएको छ । महानगरका सचिवालय सदस्य सारदा मैनालीले दिनभर बजार खुल्ला हुन थालेपछि कोरोना संक्रमणको संभावित जोखिम मास्क नलगाएकाहरुलाई हुने भएको बताउनुभयो ।
पार्टीका विभिन्न शुभेच्छुक तथा शुभचिन्तक र पार्टीका संगठित सदस्य समेतको सहयोगमा संक्रमितलाई पोषण झोला तथा मास्क नलगाई बजारमा हिड्ने नागरिकलाई मास्क वितरणको अभियान चलाउन थालिएको हो ।
महानगरका अर्का सचिवालय सदस्य नविन पौड्यालले राजनीतिक पार्टीको जिम्मेवारी बढाउन सक्दा मात्रै कोरोना संक्रमित तथा परिवारमा हुनसक्ने हिंसालाई न्यूनीकरण गर्न सकिने दावी गर्नुभयो ।
कोरोना संक्रमणको तत्काल अन्त्य हुने संभावना नहुँदा सचेतना र आत्माबल बढाउने किसिमका गतिविधिलाई सबै राजनीतिक पार्टीहरुले एकिकृत रुपमा अगाडी बढाउन आवश्यक देखिन्छ । हुनेले केहि सहयोग गर्ने र नहुनेको जीवन जोगाउनु नै अहिलेको प्रमुख दायित्व बनेको विराटनगरका युवा उद्यमी गिरेन्द्र कार्कीको भनाई छ ।
नेकपा विराटनगर महानगर समितिले यस अगाडी संक्रमितका घरहरुमा सेनिटाइज तथा डिस्इन्फेक्सन गर्ने अभियान सञ्चालन गरेको थियो । त्यो अभियानको चरण पूरा गरेर नयाँ योजना अन्तर्गत पोषण झोला उपलब्ध गराउने कार्यक्रम थालिएको नगर अध्यक्ष थापाले दावी गर्नुभयो ।