सीमा वारपार तस्करीको लाइन पुनः सुरु

सीमा वारपार तस्करीको लाइन पुनः सुरु

विराटनगर । चाडबाडलाई लक्षित गरी सीमा क्षेत्रको तस्करी नियन्त्रणमा कडाई गरेको प्रहरीको दावी विपरित मोरङ र सुनसरीका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम सुरु भएको छ ।

कोरोना भाईरसको विश्वव्यापी प्रकोपसँगै नेपाल–भारत सीमा सिल गरिएपछि ठप्प भएको तस्करी फेरि मौलाउन थालेको हो । तेस्रो मुलुकबाट नेपाल पैठारी गरिएको हरियो मटर, मरिच, सुपारी, सुकमेल चोरी बाटोबाट भारत पठाउन देखि चिनी तथा चामल नेपाल ल्याउने क्यारिङवालाहरु सक्रिय भएका हुन् ।

लकडाउन सुरु भएको १५ दिनपछिबाट सीमा क्षेत्रका नागरिकले नेपालमै उत्पादन भएको खााद्य सामाग्री चामल, चिनी, तेल खरिद गर्दै आएपनि पछिल्लो भदौ लागेपछिको पछिल्लो १५ दिनयता सीमा कटाएर ल्याउन थालेका हुन् । यसमा प्रहरीको समेत सेटिङ रहेको आरोप विराटनगरका व्यापारीहरुको छ ।
चामलका आयातकर्ता जितु बोथडाका अनुसार चामल र चिनी भदौको पहिलो हप्तापछि सीमा क्षेत्रबाट भित्र्याउने काम सुरु भएको हो । त्यसपछि सीमा क्षेत्रका ग्राहकले नेपालको उत्पादन खपत गर्न छोडेको दावी छ ।

जोगबनीका व्यापारीले क्यारिङ गराएर प्रति किलोग्राम ७५ रुपैयाँमा वारीका बजारमा चिनी ल्याइदिन थालेको समेत विराटनगरका व्यापारीको आरोप छ । प्रति किलोग्राम ७५ हालेर खरिद गरेको तस्करीको उक्त चिनी सीमा क्षेत्रका पसलेहरू प्रति किलोग्राम ८० रुपैयाँमा विक्री गरिरहेका छन् । यता कानुनी रूपमा पैठारी गरिएको चिनीको खुद्रा मूल्य प्रति किलोग्राम ८५ रुपैयाँ पर्दछ ।
सीमाबाट तस्करी धन्दा चलिरहेको छ भन्ने कुरा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको गस्ती टोलीले विराटनगर महानगरपालिकाको १८ नम्बरमा पर्ने सीमा क्षेत्र तरिगामाबाट करिब १५ हजार रुपैयाँ मूल्यको ७ बोरा हरियो मटर पक्राउ गरेबाट समेत प्रष्ट हुन्छ ।

उक्त मटर भारततर्फ तस्करी गर्न लगिँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त मटरका बोराहरू साइकलमा लोड गरिएको र प्रहरी देख्नेबित्तिकै साइकल र मटरका बोरा छाडेर तस्कर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङको दाबी छ ।

मोरङको रतुवामाई नगरपालिकाको झुर्किया, सुनबर्सी गाउँपालिकाको सिक्टी, रङ्गेली नगरपालिकाको चोप्रा, धनपालथान गाउँपालिकाको खयरबोना र नोचा तथा विराटनगर महानगर क्षेत्रभित्रका बुधनगर, इस्लामपुर, मटेरवा र दरैया तस्करीका मुख्य नाका मानिन्छन् । यी नाकाबाट तस्करी गराउने व्यक्ति भने एकैजना रहेका छन् ।

त्यस्तै सुनसरीका साहेबगञ्ज, कप्तानगञ्ज, छिटाहा, भूटाहा र अमडुवा पनि तस्करीका मुख्य केन्द्र भएको प्रहरी स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्