झापाको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका जोड्ने फूलबासा खोलामा सोमबार पुल शिलान्यास भएको छ ।झापा क्षेत्र नं १ का सांसद् सुरेन्द्र कार्कीले उक्त पुलको शिलान्यास गर्नुभयो । भद्रपुर–९ र मेचीनगर–१४ जोड्ने उक्त पुल प्रदेश नं १ सरकारको रू सात करोड ११ लाख ९९ हजार ६५३ का लागतमा निर्माण हुनेछ ।
डबल स्पान आरसिसी टी–ब्रिज पाइल फाउण्डेशनमा निर्माण हुन लागेको उक्त पुलको लम्बाइ ५० मिटर र चौडाइ फुटपाथसहित ८.४ मिटर रहने छ । गत असार ८ गते ठेक्का लागेको पुलको आगामी २०७९ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । पुल निर्माणको ठेक्का मृत सञ्जीवनी- श्रीपाथीभरा- झापाली जेभीले पाएको छ ।
शिलान्यास कार्यक्रममा झापा क्षेत्र नंं १ प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, मेचीनगर उपप्रमुख मीना उप्रेती, मेचीनगर–१४ का वडाध्यक्ष शङ्कर पोखरेल, भद्रपुर–९ वडाका कार्यवाहक अध्यक्ष राम दाहाललगायतले पुल समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो । पुल नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयवासी पुल शिलान्यास भएसँगै हर्षित भएका छन् ।